बर्दिया : प्लान ईन्टरनेशनल नेपालको आर्थिक सहयोगमा बर्दियामा सञ्चालनमा रहेको स्टीम एजुकेशन परियोजना अन्तरगतका पालिकाका शिक्षकहरुका लागि तीन दिने तालिम सम्पन्न भएको छ । राजापुर नगरपालिका र गेरुवा गाउपालिकाका परियोजना संचालन भएका विद्यालयहरुका शिक्षकहरुका लागि लक्षित गरी राजापुरमा संचालित स्टीम एजुकेशन सम्बन्धी तालिम बुधवार सकिएको हो ।
विद्यालयतहको शिक्षालाई गुणस्तरीय बनाउने उद्देश्यले गतसोमवारदेखि तालिम शुरु भएको थियो । विद्यालयमा लैंगिक समानता प्रवर्दन गर्न तथा लैंगिक संवेदनशिल शिक्षण सिकाई पद्धतिलाई अंगिकार गरी कक्षा सञ्चालन गर्ने उद्देश्यले बर्दियाका दुइ स्थानीय तहका कक्षा शिक्षकहरुका लागि स्टिम सम्बन्धी शिक्षकहरुका लागि शिक्षण तालिम संचालन गरिएको हो ।
प्लान इन्टरनेशनल नेपाल क्षेत्रीय कार्यालय कर्णाली प्रदेश सुर्खेतको आर्थिक सहयोग र सामाजिक सचेतन सरोकार मंच स्याक नेपाल बाँकेको साझेदारी तथा राजापुर नगरपालिका समन्वय, सहकार्यमा सिकाई परियोजना संचालन भएका विद्यालयका कक्षा शिक्षकहरुलाई तालिममा सहभागि गराइएको थियो ।
शिक्षकलाई विद्यालयमा गरिने शिक्षण सिकाई पद्धति र कक्षाकोठा व्यवस्थापनमा रुपान्तरण गर्न लैंगिक संवेदनशिल शिक्षण सिकाई विधि र प्रक्रियाको बारेमा सहभागिको ज्ञान र सिपमा अभिवृद्घि भई विद्यालय तहमा पाठ्यक्रममा भएको बिषयगत पाठको सहजीकरण गर्न र शिक्षण सिकाइमा मद्घत पुग्ने आयोजकको अपेक्षा छ ।
तालिममा स्टिम शिक्षाका विविध पक्षहरु, स्टिम शिक्षण विधि, स्टिम विषयवस्तुहरु तथा नेपाल सरकारले हालै लागु गरेको इन्टीग्रेटेड पाठ्यक्रमका पक्षहरुमा प्रशिक्षण गरिएको छ । तालिमलाई त्रिभुवन विश्वविद्यायका स्टीम म्याथमेटिक्स स्टीम एजुकेशनका उपप्रधाध्यक इन्द्रमणि श्रेष्ठले सहजीकरण गरेका थिए ।
चन्द्रोदय प्रथामिक विद्यालय, नेरामाबि गोडियाना, जनचेतना माध्यामिक विद्यालय, नेराआबि बदालपुर, ज्ञनोदय प्राबि, अमर शहिद दसरथ चन्द माध्यामिक विद्यालय राजापुर, बसन्तापुरका प्रधानाध्यापक तथा शिक्षकहरुको सहभागिता रहेको तालिमलाई बुधवार स्याक नेपालका अध्यक्ष शिवलाल पाण्डेको अध्यक्षतामा राजापुर नगरपालिका शिक्षा तथा खेलकुद शाखा प्राबिधिक सहायक चन्द्रबहादुर ठाडामगर प्रमुख आतिथ्यतामा समापन गरिएको परियोजनाका सुपरभाइजर दशलाल चौधरीले जानकारी दिए ।