नरैनापुर (बाँके) : चैत महिना सकिनै लाग्दा नरैनापुर खोदवाका राम सहाई यादबलाई गहुँ काट्ने र थन्क्याउने कामको हतारो थियो । आउदो जेठमा उनकी बहिनीको विहे छिनिएका कारण उनी र उनको परिवारलाई सकेसम्म छिटो गहँु थन्क्याउनु पर्ने थियो ।
गहुँ थन्क्यायर बहिनीको विहेको तयारीमा जुट्ने परिवारको सल्लाह अनुसार विहेका सामान, तिलक स्वरुप दिईने नगद ३० हजार भारु रुपैया घरमा ठिक्क पारेर राखिएको थियो । तर, गत शनिबार गहुँ काट्न खेतमा गएको बेला भएको आगलागीले उनको परिवारको खुशी सखाप पार्यो । आगलागीले घरसंगै उनको बहिनिको विहे गर्ने सपना पनि खरानी भएको थियो । ‘अहिले परिवारसंग जीउमा लगाएको एकसरो लुगा बाहेक केहि छैन्’–उनी भन्छन् ।
स्थानीय तह र संघसंस्थाले दिएको चामलले उनको परिवारले छाक टार्दै आएको छ । नजिकै की गुणदत्ता पासीको व्यथा पनि राम सहाईको जस्तै छ । खेतबाट घर फर्किदै गरेकी गुणदत्ता पासीले घर जलिरहेको देखिन । हत्तपत्त सामान सार्दै गर्दा उनी आफु पनि जलेर घाइते भएकी छन् । उनले जति कोसिस गरेपनि घरको सामान भने सिन्को बराबर पनि जोगाउन सकिनन् । आफु जलेको भन्दा पनि गुणदत्तालाई सामान जोगाउन नसकेकोमा बढी पिडा भईरहेको छ यतिबेला ।
खोदवाँमा भएको आगलागी घटनाका पीडित यी दुई प्रतिनिधि पात्र मात्र हुन । चरम गरिविका कारणले हुने हरेक वर्ष यस्तो आगलागीले यी दुईको जस्तो धेरैको मन जलाएको छ । बाँकेको नरैनापुर गाउँपालिकाको खोदवाँ गाउँमा आगलागी हुँदा ६९ घर जलेर पुर्ण रुपमा जलेर नष्ट भएका छन् । नेपालगञ्जदेखि ४० किमि पूर्व बाँकेको नरैनापुरमा गाउँपालिका ४ खोदवाँमा आगलागी हुँदा आंशिक र पुर्ण रुपमा गरि झण्डै १ सय १८ वटा घरगोठ जलेका हुन् ।
आगलागीबाट ४ जना जलेर घाइते भएका छन् । आगलागीको यकिन कारण खुल्न सकेको छैन् । नरैनापुर गाँउपालिकासंग १ वटा मात्रै दमकल भएका कारण पनि आगलागी नियन्त्रणमा समस्या भएको थियो भने आगलागीको यकिन कारण अंझै खुल्न सकेको छैन् । आगो निभाउन विभिन्न पालिकाका गरि ४ वटा दमकल प्रयोग गरिएको थियो ।
अहिले पीडितलाई टेन्टको व्यवस्था गरिएको छ । आगो निभिसकेको भए पनि पीडितको मनको आगो भने अंझ निभेको छैन । अहिले नरैनापुरलाई केन्द्र र प्रदेश सरकारको सहयोग र अपनत्वको आवश्यकता परेको पालिकाका अध्यक्ष इस्तियाक अहमद शाह बताउछन् ।
आगलागीको विनाशकारी शिलशिला गत फागुन १७ गतेबाट सुरु भएको थियो । फागुन २४ गते पनि नरैनापुर गाउँपालिका १ को सुइया गाउँमा भएको आगलागीमा २२ घर गोठ जलेर नष्ट भएका थिए । हरेक बर्ष हावाहुरीका कारण नरैनापुरका विभिन्न बस्तीमा आगलागी हुने गरेको छ ।
‘यो मौसममा चक्रिय हावा बहने र प्रायको खरको छाना हुने हुनाले नरैनापुर आगलागीको उच्च जोखिममा छ । त्यसकारण स्थानीय, प्रदेस र केन्द्र सरकार सबै मिलेर खरको छाना मुक्त पालिका बनाउनुका साथै विपद जोखिम न्युनिकरणका लागि पुर्व तयारी गर्न आवश्यक छ’– पालिका अध्यक्ष शाह भन्छन् ।
सदरलाइन डटकम अनलाईनसंग कुरा गर्दै उनले सिमा कुरुवाहरुलाई केन्द्र सरकारले संधै अभाव र गरिबीमा राखेको भन्दै आक्रोश पोखे । साथै उनले अहिले पीडितलाई दाल चामलको भन्दा पनि यो आगलागीको समस्या संधैका लागि समाधान गर्न खरको छाना मुक्त पालिका बनाउन अति आवश्यक रहेकोमा जोड दिंदै नरैनापुरलाई केन्द्र र प्रदेश सरकारको सहयोगको र प्रयाप्त बजेटको आवश्यकता रहेको बताए ।