सदरलाइनडटकम,
नेपालगञ्ज : नेपाल कम्युनिष्ट पार्टी(नेकपा)का स्थायी समिति सदस्य योगेश भट्टराईले स्कुल विभागको कारण पार्टी एकतामा कुनै असर नपर्ने बताएका छन् ।
प्रेस संगठन बाँकेले बिहिवार नेपालगञ्जमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै नेता भट्टराईले सो कुरा बताएका हुन । उनले पार्टी एकतालाई पूर्णता दिनेक्रममा स्कुल विभागको प्रमुखका लागि देखिएको विवाद सामान्य भएको बताउदै स्कुल विभागको नेतृत्व जसको भए पनि पार्टीको लाईन जनताको जनवाद नै हुने स्पष्ट पर्दै भने–‘पार्टीमा रहेका ३२ वटै विभाग समान हुन कुनै कुनै कामको प्रकृतिको आधारमा महत्वको रहेको कारणले अलि बिबाद देखा परेको हो अध्ययनशिल नेता जो आए पनि हुन्छ । यसले पार्टीको एकता प्रकृयालाई फरक पर्दैन ।’
उनले आगमी एक साता भित्र पार्टी एकताका सबै प्रकृया सकिने बताउदै भने–‘पार्टी एकता तथा सुदृढीकरणको सबै काम एक हप्ता भित्र सकिन्छ । अब सबै आन्तरिक तयारी गरि दुई महिना संगठन सुदृढिकरण र जनपरिचालन गरिने छ ।’
कार्यक्रममा नेता भट्टराईले एक वर्षभित्रमा मातहत कमिटीको अधिवेशन गरि डेढ वर्षभित्र एकताको महाधिवेशन गर्ने गरी पार्टी तयारीमा जुट्ने जानकारी दिए ।
उनले पार्टीलाई आगामी निर्वाचनमा झन बढि सफलता पाउने गरी सरकारले काम गरेको दाबी गर्दै भने–‘ सरकारको डेढ वर्षे कार्यकालबाट पाठ सिक्दै अघि बढ्दै गरेको अवस्था छ । अघिल्लो आर्थिक वर्ष सरकारको आधार वर्षे थियो । चालु आव आर्थिक विकास र समृद्धिको वर्ष हुने र अबको तीन वर्षभित्र मुलुकमा देखिने गरि परिवर्तन हुने छ ।’
नेता भट्टराईसहितको संसदीय समितिको टोली देशभरका २२ मेडिकल कलेजको अनुगमनको क्रममा नेपालगन्ज आई पुगेको हो ।
टोलीले हाल मुलुकका २२ वटा मेडिकल कलेजको स्थलगत अनूगमन गरि सकेको र अनूगमनका क्रममा भेटीएका तथ्यहरु एकसाता भित्र संसदिय समितिमा बुझाउने नेता भट्टराईले बताए ।