Sadarline
२०८३ असोज २६ , सोमबार

बाँकेको नौबस्ता कारागारभित्रबाट बाढीपीडितका लागि सहयोग



नेपालगञ्ज :  रसुवा र नुवाकोटमा आएको बाढीबाट प्रभावित नागरिकको उद्धार तथा राहतका लागि बाँकेको नौबस्ता कारागारमा रहेका कैदीबन्दीले स्वैच्छिक रूपमा आर्थिक सहयोग गरेका छन् । नौबस्ता कारागारमा रहेका ४ सय ६६ जना कैदीबन्दीले स्वैच्छिक रूपमा ४९ हजार ५ सय १० रुपैयाँ बाढीबाट प्रभावित नागरिकको उद्धार तथा राहतका लागि सहयोग गरेका हुन् ।

कारागारको ‘बी’ ब्लकमा रहेका कैदीबन्दीले आफूले व्यक्तिगत रूपमा प्राप्त गर्ने खर्चबाट रकम छुट्याएर सहयोग गरेका हुन् । विपत्तिको समयमा आर्थिक तथा भौतिक रूपमा कठिन अवस्थामा रहेका नागरिकलाई केही सहयोग पुगोस् भन्ने उद्देश्यले उनीहरूले रकम सङ्कलन गरेको कारागार प्रशासनले जनाएको छ ।

भोटेकोशी नदीमा आएको बाढीका कारण भएको मानवीय तथा भौतिक क्षतिप्रति दुःख व्यक्त गर्दै कैदीबन्दीले सहयोग अभियान सुरु गरेका थिए । रकम सङ्कलन गर्नुअघि बाढीमा परी ज्यान गुमाउनेप्रति उनीहरूले सामूहिक रूपमा श्रद्धाञ्जली व्यक्त गर्दै शोकसन्तप्त परिवारप्रति समवेदना पनि प्रकट गरेका थिए ।

नौबस्ता कारागारका निमित्त प्रमुख ज्ञानबहादुर ओलीका अनुसार कैदीबन्दीले कुनै दबाब वा बाध्यतामा नभई स्वेच्छाले रकम सङ्कलन गरेका हुन् । सीमित स्रोतसाधन र कारागारभित्रको अवस्थाका बाबजुद विपत्तिमा परेका नागरिकलाई सहयोग गर्ने उनीहरूको इच्छाले मानवीय संवेदनालाई प्राथमिकता दिएको देखिएको ओलीले बताए ।

कैदीबन्दीले सङ्कलन गरेको रकम प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा जम्मा गरिएको छ । व्यक्तिगत आवश्यकता पूरा गर्न प्रयोग गर्न सकिने रकमबाट समेत विपत्तिमा परेकाका लागि सहयोग छुट्याउनु उनीहरूको सामाजिक भावनाको उदाहरण बनेको छ ।

विपद्का बेला उद्धार, राहत र पुनस्र्थापनाका लागि राज्य तथा विभिन्न सामाजिक संस्थाले सहयोग जुटाइरहेका बेला कारागारभित्र रहेका नागरिकबाट समेत सहयोग प्राप्त हुनु अर्थपूर्ण मानिएको छ । यसले विपत्तिको पीडा भोगिरहेका नागरिकप्रति सहानुभूति व्यक्त गर्ने भावना समाजका सबै तहमा रहेको सन्देश दिएको छ ।

प्रकाशित मिति : २०८३ भदौ १६ गते मंगलबार
ताजा समाचार