२०८३ कात्तिक ३ , सोमबार
Sadarline
२०८३ कात्तिक ३ , सोमबार

राप्तीसोनारीमा सर्पदंशको जोखिम, एक वर्षमा ५५ जनाको उपचार



नेपालगञ्ज : बाँकेको राप्तीसोनारी–८ ओभरीस्थित सर्पदंश उपचार केन्द्रमा आर्थिक वर्ष २०८२/८३ मा ५५ जना सर्पदंशका बिरामीले उपचार सेवा लिएका छन्। तीमध्ये पाँच जनालाई अति विषालु सर्पले टोकेको थियो।

उपचार केन्द्रका अहेब नन्दलाल पाण्डेका अनुसार उपचारका लागि समयमै स्वास्थ्य संस्था पुगेकाले सबै बिरामीको सफल उपचार भएको हो। सोही अवधिमा बिच्छीको टोकाइका ६९ जनाले समेत उपचार सेवा लिएका छन्।

वर्षायाममा पानीका कारण सर्प बासस्थानबाट बाहिर निस्कने भएकाले घर, गोठ तथा खेतबारीमा सर्पदंशको जोखिम बढ्ने गरेको छ। धान रोपाइँ, घाँस काट्ने र खेतबारीमा काम गर्दा विशेष सावधानी अपनाउन स्वास्थ्यकर्मीले आग्रह गरेका छन्।

सर्पदंशबाट बच्न राति टर्च प्रयोग गर्ने, खेतबारीमा बुट तथा लामो पाइन्ट लगाउने र घर वरिपरि झाडी तथा फोहोर नराख्न सुझाव दिइएको छ। सर्पले टोकेमा झारफुकमा समय नबिताई तत्काल नजिकको स्वास्थ्य संस्था वा सर्पदंश उपचार केन्द्रमा पुग्न आग्रह गरिएको छ।

प्रकाशित मिति : २०८३ भदौ १ गते सोमबार
ताजा समाचार