समाचार सारांश
- बाँकेको खजुरास्थित पेडारी नालाको निर्माणाधीन पुलमाथि शुक्रबार बिहान शङ्कास्पद प्रेसर कुकर फेला परेपछि हुलाकी राजमार्गमा केही समय आवागमन अवरुद्ध भएको छ ।
- घटनापछि नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाको बज्रदल गणको बम डिस्पोजल टोलीले उक्त वस्तु पड्काएर निष्क्रिय बनाएको जिल्ला प्रहरी कार्यालय बाँकेका एसपी अंगुर जिसीले जानकारी दिएका छन् ।
- कुकर ‘हक्स’ हुनसक्ने आशंका गरिएको छ भने घटनास्थलबाट कुनै पर्चा वा जिम्मेवारी दाबी गर्ने सामग्री फेला नपरेको प्रहरीले जनाएको छ ।

नेपालगञ्ज : नेपालगञ्ज–गुलरिया सडकखण्डको बाँकेको खजुरामा रहेको पेडारी नालाको छेउमा शुक्रबार बिहान फेला परेको शङ्कास्पद वस्तुलाई नेपाली सेनाको बम डिस्पोजल टोलीले निष्क्रिय बनाएको छ ।
नेपालगञ्ज– गुलरिया हुलाकी सडक अन्तर्गत खजुराबजार नजिकै निर्माणाधिन पेडारी नालाको पुलमाथि बिहान ६ बजेतिर शङ्कास्पद रुपमा प्रेसर कुकर फेला परेको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ ।
घटनाको जनाकारी पाउने वित्तिकै प्रहरी घटना स्थलमा पुगेको जिल्ला प्रहरी कार्यालय बाँकेको प्रहरी उपरिक्षक अंगुर जिसिले जनाकारी दिए ।

निर्माणाधिन पुलको छेउमा शङ्कास्पद रुपमा कुकर भेटिएपछि घटनास्थलमा पुगेको नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाको टालीले घटनास्थललाई घेरेर सो राजमार्गमा आवागमन बन्द गराई निष्कृय पार्न सुरु गरेको थियो ।
उनले त्यो कुकर स्थानीयलाई तर्साउन राखिएको हुनसक्ने जनाउँदै त्यसलाई ‘हक्स’ भनिने पनि बताए ।
उनले नेपाली सेनाको बज्रदल गणबाट खटिएको बम डिस्पोजल टोलीले घटनास्थललाई नियन्त्रणमा लिएर सो शङ्कास्पद कुकरलाई पड्काएर निष्क्रिय बनाएको जानकारी दिए । प्रहरीका अनुसार घटनास्थलबाट कुनै पर्चा वा जिम्मेवारी लिएको सामाग्री फेला परेको छैन ।
नेपाली सेनाको टोलीले उक्त कुकरलाई डिस्पोज गरेपछि हुलाकी राजमार्गको आवागमन खुला गरिएको पनि प्रहरीले जनाएको छ । यसअघि नेपालगञ्ज गुलरिया सडकमा चल्ने सवारी साधनलाई केही घण्टाका लागि बैकल्पिक मार्गबाट सञ्चालन गराइएको थियो ।


