समाचार सारांश
- सिविन–नेपालद्वारा सञ्चालन गरिएको “सुफासेक परियोजना” को समीक्षा तथा समापन बैठक नेपालगञ्जमा सम्पन्न भयो।
- जसमा बाल अधिकार र संरक्षणलाई स्थानीय तहको प्राथमिकतामा राख्नुपर्नेमा जोड दिइयो।
- परियोजनाले विगत तीन वर्षमा बाल संरक्षण तथा यौन तथा प्रजनन स्वास्थ्य अधिकारका क्षेत्रमा नीति, बजेट र सामाजिक सचेतनामा महत्वपूर्ण उपलब्धि हासिल गरेको सरोकारवालाहरूले बताए।

नेपालगञ्ज : सिविन–नेपालको आयोजनामा बाल अधिकार तथा संरक्षण प्रवर्द्धनसम्बन्धि “सुफासेक परियोजना” को समीक्षा तथा क्लोज-अप बैठक शनिबार नेपालगन्जमा सम्पन्न गरिएको छ । कार्यक्रमका प्रमुख अतिथि नेपालगञ्ज उपमहानगरपालिकाका प्रमुख प्रशान्त विष्टले बालअधिकार संरक्षणलाई स्थानीय तहको प्राथमिकतामा राखेर काम गरिरहेको बताए । उनले बालबालिकामाथि हुने हिंसा, श्रम र दुर्व्यवहार अन्त्य गर्न सरकारी निकाय र नागरिक समाजबीच सहकार्य आवश्यक रहेको उल्लेख गरे । साथै, बालमैत्री समाज निर्माणका लागि यस्ता परियोजनाले महत्वपूर्ण योगदान पुर्याएको बताए ।

कार्यक्रममा सिविन–नेपालका अध्यक्ष माधव प्रधान, नेपालगञ्ज उपमहानगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत गोर्ख बहादुर थापा, राष्ट्रिय मानव आयोग नेपालगन्ज प्रमुख द्वारिका कुमारी अधिकारी, परियोजना प्रमुख निर्जना भट्ट तथा सिविनका नेपालगन्ज प्रमुख सिद्धराज पनेरु लगायत सरोकारवालाहरूको सहभागिता रहेको थियो । बैठकमा परियोजनाको तीन वर्षको अवधिमा हासिल उपलब्धि, सिकाई, चुनौती तथा आगामी कार्ययोजनाबारे छलफल गरिएको सिविन–नेपालले जनाएको छ ।
सि.आर.सी. एसियाको सहयोगमा विगत तीन वर्षदेखि नेपालगञ्ज उपमहानगरपालिकाको समन्वयमा “सुफासेक” परियोजना संचालन हुँदै आएको छ । परियोजनाले बाल संरक्षण र यौन तथा प्रजनन स्वास्थ्य अधिकारलाई महत्वपूर्ण सामाजिक मुद्दाका रुपमा स्थापित गर्न नीति तथा बजेट स्तरीय पैरवी गर्दै आएको पनेरुले बताए । परियोजना अन्तिम चरणमा पुगेको सन्दर्भमा विगत तीन वर्षको अवधिमा प्राप्त भएका उपलब्धिहरु, सिकाई तथा कार्यान्वयनका क्रममा देखिएका चुनौतीहरु समग्र समिक्षा एवम् अनुभव आदानप्रदान गर्ने उद्देश्यले समापन वैठक आयोजना गरिएको परियोजना प्रमुख भट्टले बताइन् । सिविन -नेपालले विगत ३८ वर्षदेखि बाल अधिकार तथा संरक्षण प्रवर्द्धनका लागि निरन्तररुपमा कार्य गर्दै आएको अध्यक्ष प्रधानले बताए ।


