समाचार सारांश
- निर्माण कम्पनीको लापरबाही र पटक–पटक म्याद थप्ने प्रवृत्तिका कारण बाँके जिल्लाका कोहलपुर नगरपालिका, जानकी गाउँपालिका र नरैनापुर गाउँपालिकाका प्रशासनिक भवन निर्माण अलपत्र परेका छन्।
- तोकिएको समयभन्दा एक वर्षभन्दा बढी ढिला हुँदा पनि भवन निर्माण पूरा नभएकाले स्थानीय तहको सेवा प्रवाह प्रभावित भएको सरोकारवालाहरूले बताएका छन्।
- यता खजुरा गाउँपालिकाले भने निर्माणाधीन प्रशासनिक भवनबाटै सेवा सुरु गरेको छ भने बाँकी प्राविधिक संरचना जडानको काम अन्तिम चरणमा पुगेको छ।

नेपालगञ्ज : निर्माण कम्पनीको लापरबाहीले बाँके जिल्लाका तीन वटा स्थानीय तहका निर्माणाधीन प्रशासनिक भवन अलपत्र परेका छन् । निर्माण गर्ने समयावधि सकिएको एक वर्ष बितिसक्दा पनि जिल्लाको कोहलपुर नगरपालिका, जानकी गाउँपालिका र नरैनापुर गाउँपालिकाका प्रशासनिक भवनको निर्माण सम्पन्न हुन सकेको छैन । तोकिएको समयमा निर्माण पुरा नहुँदा ती भवन अलपत्र परेका हुन् ।
निर्माण कम्पनीले समयमै काम नगरे पनि स्थानीय तहले म्याद थप्दै जाने प्रवृत्तिले प्रशासनिक भवन झनै अलपत्र परेको देखिएको छ । कोहलपुर नगरपालिकाले २०७९ साल असारमा २०८१ पुस मसान्तसम्ममा सम्पन्न गर्ने गरी १५ करोड ३८ लाखमा भवन निर्माण गर्ने जिम्मा एशोसिएट रञ्जितकार जया भवानी जेभीलाई दिएको थियो । तर उक्त म्याद सकिएको एक वर्ष बित्दा पनि भवन निर्माण सम्पन्न भएको छैन ।
निर्माण कम्पनीले दिएको निवेदनअनुसार म्याद थप गरे पनि सन्तोषजनक रूपमा काम अगाडि बढ्न नसकेको कोहलपुर नगरपालिकाका नगर प्रमुख पूर्ण आचार्यले बताए । सोही प्रकारले २०७९ सालमा निर्माण पूरा गर्नुपर्ने जानकी गाउँपालिकाको प्रशासनिक भवन पनि अझै अधुरै छ । सो भवन पाँच वर्षअघि चार करोड २२ लाख ८४ हजार ७१० रुपियाँमा निर्माण सुरु भएकोमा हालसम्म भौतिक प्रगति ८० प्रतिशत मात्र पूरा भएको छ ।

यसैगरि नरैनापुर गाउँपालिकाको नयाँ प्रशासनिक भवन पनि अझै गाउँपालिकाले प्रयोग गर्न सकेको छैन । २०७९ असोज ३१ गते महालक्ष्मी–जुगल बिल्डर्स जेभीले निर्माण सम्झौता गरेको भवन निर्माणका लागि ६ करोड ८० लाख ३१ हजारमा ठेक्का सम्झौता गरेको थियो । तर, समयमै काम सम्पन्न नभएपछि पालिकाले भवन निर्माणका लागि पटकपटक म्याद थप्दै आएको छ । भवन निर्माण सम्पन्न नहुँदा जनतालाई सेवा प्रवाहमा असुविधा भइरहेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नवराज वलीले बताए ।
यता, बाँकेकै खजुरा गाउँपालिकाले प्रशासनिक भवन निर्माण नसकिँदै निर्माणाधीन भवनबाटै सेवा सुरु गरेको छ । खजुरा गाउँपालिका–३, बीगाउँस्थित निर्माणाधीन प्रशासनिक भवनबाटै सेवा सुरु गरिएको प्रमुख प्रशासकीय अधिकृत दिलबहादुर पौडेलले बताए । उनका अनुसार प्रशासनिक भवनको अधिकांश संरचना निर्माण सकिएको र थोरै काम मात्र बाँकी रहेको छ ।
विद्युत्, वाइरिङ, पानी निकास जस्ता प्राविधिक संरचना जडान भइरहेको छ । पाँच करोड ३६ लाख चार हजार ८१५ रुपियाँको लागतमा एम के जुगल जेभीले सो भवन निर्माण गरिरहेको छ ।


