
ओखलढुङ्गा : एक महिनाअघि भएको दम्पती हत्या प्रकरण सेलाउन नपाउँदै ओखलढुङ्गाको चिशंखुगढी गाउँपालिका–६ भदौरेमा फेरि एक वृद्ध दम्पतीको बीभत्स हत्या भएको छ ।
भदौरेको बोहोरे टोलमा ८० वर्षीय चन्द्रविक्रम राई र उहाँकी श्रीमती चन्द्रमाया राईको लुटपाटपछि हत्या भएको अवस्थामा शव फेला परेको हो । वडा अध्यक्ष बलराम कटवालका अनुसार दम्पतीले सञ्चालन गर्दै आएको सानो पसलमा लुटपाट गरी दुवैको हत्या गरिएको प्रारम्भिक अनुमान गरिएको छ ।

घटनाको जानकारी पाएलगत्तै स्थानीय प्रहरी घटनास्थलमा पुगेर सुरक्षा व्यवस्था कडा बनाइएको छ । जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गाका प्रमुख प्रहरी नायब उपरीक्षक मदन केसीले घटनाबारे जानकारी दिँदै आफू नेतृत्वको टोली घटनास्थलतर्फ प्रस्थान गर्ने तयारीमा रहेको बताए ।
‘घटनास्थल सुरक्षित राखिएको छ, अनुसन्धानका लागि प्रहरी टोली परिचालन हुँदैछ,’ उनले भने । यसअघि करिब एक महिना अघि यही चिशंखुगढी गाउँपालिका–६ भदौरेमै करिब ६० वर्षीय शोभितमान थापा मगर र उनकी श्रीमती रत्नमाया थापा मगरको हत्या भएको थियो ।
उक्त घटनामा संलग्न रहेको आरोपमा चार जना पक्राउ परेर अनुसन्धान भइरहेको बेला पुनः अर्को हत्याको घटना सार्वजनिक भएपछि स्थानीयवासी त्रसित बनेका छन् । लगातार भएका हत्या घटनाले भदौरे क्षेत्रमा गम्भीर सुरक्षा चुनौती थपिएको भन्दै स्थानीयले दोषीलाई शीघ्र पक्राउ गरी कडा कारबाही गर्न माग गरेका छन् । घटनाबारे थप विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ । शेरबहादुर राई / गोरखापत्र अनलाईनबाट


