बाँकेमा ५ हजार बढी नयाँ मतदाता थपिए, अधिकांश युवापुस्ता

रुद्रप्रसाद सुवेदी २५ कार्तिक २०८२, मंगलवार १०:५०
 

नेपालगञ्ज : आगामी २१ फागुनमा हुने प्रतिनिधिसभा निर्वाचनका लागि बाँकेमा ५ हजार २ सय बढी नयाँ मतदाता थपिएका छन् । जेनजी आन्दोलनपछि गत ६ असोजदेखि सुरु भएको मतदाता अद्यावधिक कार्यबाट २१ कात्तिकसम्म ५ हजार २ सय ३१ नयाँ मतदाता थपिएका हुन् ।

गत २३ र २४ भदौमा भएको परिवर्तनपछि नयाँ नेतृत्वका लागि युवा सहभागिता अधिकभन्दा अधिक होस् भन्ने हेतुले स्वतःस्फूर्त मतदाता नामावली फाराम भर्नका लागि नेपालगन्जमा चोक–चोकमा स्वतन्त्र युवा समूह स्वतःस्फूर्त रूपमा टेबुल स्थापना गरेर बसेको छ । नयाँ थपिएका मतदातामध्ये १८ देखि २५ वर्ष उमेर समूहका रहेका छन् ।

स्वतन्त्र युवा समूहले सो निर्वाचनमा आफ्नो पुस्ताको अधिकभन्दा अधिक सहभागिता गराउने उद्देश्यले नयाँ मतदाता परिचयपत्र बनाउनेहरूका लागि निःशुल्क फाराम भर्ने अभियान सञ्चालन गरेको अभियन्ता सागर आचार्यले जानकारी दिए ।

उनले भने, ‘यस निर्वाचनमा आफ्नो उमेर समूहको मतदान प्रक्रियामा सहभागी हुने प्रक्रिया सुनिश्चित गर्नका लागि नगरका विभिन्न चोकचोकमा बसेर अनलाइनमा निःशुल्क मतदाता फाराम भरिदिने काम गर्दै आएका छौं, यो सबैले आगामी निर्वाचनमा चुनिने र चुन्ने प्रक्रियामा सहभागी हुन् भन्ने हाम्रो धारणा हो ।’

उनले करिब ५ सय जनालाई मतदाता नामावलीका लागि निःशुल्क फाराम भरेर सहयोग गरिसकेको बताए । निर्वाचन आयोगले नयाँ मतदाता नामावलीको फोटो खिच्नका लागि अनलाइन फाराम भरेर सक्कल नागरिकता बोकी जिल्ला निर्वाचन कार्यालयमै सेवाग्राही पुग्नुपर्ने प्रावधान राखेको छ ।


निर्वाचन कार्यालय परिसरमा मतदाता परिचयपत्र बनाउन आइपुगेका नेपालगन्ज–१८ का प्रदीप यादवले परिचयपत्रका लागि फोटो खिचिसकेपछि पहिलोपटक आफूले मतदान गर्न पाउने अधिकार सुनिश्चित गरेको बताए । उनले भने, ‘अवस्था परिवर्तनका लागि युवाले गरेको बलिदानलाई खेर जान नदिनेगरी पहिलोपटक २१ फागुनमा हुने निर्वाचनमा आफ्नो मताधिकार प्रयोग गर्न पाउने भएकाले खुसी छु ।’

बाँके बैजनाथकी लक्ष्मी सुनारले मतदानको अधिकार सुनिश्चितताका लागि मतदाता नामावलीका लागि फोटो खिच्न आएको प्रतिक्रिया दिइन् । उनले मतदान गर्ने अधिकारका लागि फोटो खिचेको बताइन् ।

निर्वाचन कार्यालय बाँकेका प्रमुख टेकबहादुर शाहीले जेनजी आन्दोलनपछि गत ६ असोजदेखि सुरु भएको मतदाता अद्यावधिक कार्यबाट २१ कात्तिकसम्म ५ हजार २ सय ३१ नयाँ मतदाता थपिएको जानकारी दिए । उनले यो क्रम बढ्दो अवस्थामा रहेको बताए ।

निर्वाचन अधिकारी शाहीले बाँकेमा ३ लाख ३३ हजार ९ सय ३४ मतदाता रहेको र सो मतदातामध्ये १ लाख ६९ हजार ८ सय ७६ पुरुष, १ लाख ६४ हजार ४९ महिला र ९ जना अन्य मतदाता रहेको बताए ।

मतदाता नामावलीमा नाम दर्ता गराउनेमा नेपालगञ्ज उपमहानगरपालिका र कोहलपुर नगरपालिकाका अधिकांश छन् । आठ पालिका रहेको बाँकेमा नेपालगञ्ज र कोहलपुरबाहेकका पालिकाबाट न्यून रूपमा मतदाता नामावलीका लागि फोटो खिच्न जिल्ला निर्वाचन कार्यालय पुगेको जिल्ला निर्वाचन अधिकारी शाहीको भनाइ छ । राजधानी दैनिकबाट

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

दिल्ली विस्फोट: घटनाबारे अनुसन्धान हुँदै, लालकिल्ला तीन दिनका लागि बन्द

२५ कार्तिक २०८२, मंगलवार १०:५०
भारतको राजधानी दिल्लीको लालकिल्लानजिक सोमवार राति आठ जनाको ज्यान जाने गरी भएको एउटा कार विस्फोटको घटनामा सबै कोणबाट अनुसन्धान सुरु गरिएको अधिकारीहरूले बताएका छन् । विस्फोट भएको कार त्यसअघि कहाँकहाँ पुगेको थियो भन्ने खोजी भइरहेको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन् । एएनआई समाचारसंस्थाले सार्वजनिक गरेको दृश्यमा झिसमिसेबाटै अनुसन्धानकर्ताहरू घटनास्थलमा पुगेको देखिन्छ । […]