२०८३ कात्तिक ७ , शुक्रबार
Sadarline
२०८३ कात्तिक ७ , शुक्रबार

दिल्ली विस्फोट: घटनाबारे अनुसन्धान हुँदै, लालकिल्ला तीन दिनका लागि बन्द



भारतको राजधानी दिल्लीको लालकिल्लानजिक सोमवार राति आठ जनाको ज्यान जाने गरी भएको एउटा कार विस्फोटको घटनामा सबै कोणबाट अनुसन्धान सुरु गरिएको अधिकारीहरूले बताएका छन् । विस्फोट भएको कार त्यसअघि कहाँकहाँ पुगेको थियो भन्ने खोजी भइरहेको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन् । एएनआई समाचारसंस्थाले सार्वजनिक गरेको दृश्यमा झिसमिसेबाटै अनुसन्धानकर्ताहरू घटनास्थलमा पुगेको देखिन्छ ।

सोमवार रातिदेखि नै दिल्ली र आसपासका क्षेत्रमा सुरक्षा व्यवस्थामा कडाइ गरिएको छ । यातायातका केन्द्रहरू र मानिसहरू धेरै भेला हुने क्षेत्रमा प्रहरीको उपस्थिति बढेको छ । भारतको आर्थिक राजधानीका रूपमा चिनिने मुम्बईमा पनि उच्च सुरक्षा सतर्कता अपनाइएको छ। दिल्लीमा लाल किल्ला मेट्रो स्टेशनबाहिर विस्फोटन, कम्तीमा आठजनाको मृत्यु भएको प्रहरीको भनाइ छ । ऐतिहासिक र पुरातात्त्विक महत्त्व भएको लालकिल्लामा दैनिक हजारौँ आन्तरिक र विदेशी पर्यटकहरू घुम्न जान्छन् । उक्त स्थान तीन दिनका लागि बन्द गरिएको छ।

उक्त घटनाको अनुसन्धानमा विभिन्न सुरक्षा निकाय संलग्न भएका छन् । गृह मन्त्रालयमा गृहमन्त्री अमित शाहको नेतृत्वमा उच्चस्तरीय सुरक्षा समीक्षा बैठक हुँदै छ । शाहले राति नै घटनास्थलको निरीक्षण गरेका थिए । विस्फोटन के कारणले भयो भन्ने स्पष्ट भइसकेको छैन । तर गृहमन्त्री शाहले त्यो पत्ता लगाउन सबै सम्भावनाबारे अनुसन्धान सुरु भएको छ । “हामी सबै सम्भावनाहरूलाई ध्यानमा राखेर गहन अनुसन्धान गर्छौँ। सबै विकल्पबारे तुरुन्तै अनुसन्धान हुने छन् र त्यसको नतिजा जनतासामु ल्याउने छौँ,” गृहमन्त्री शाहले भनेका छन्।

सोमवार राति विस्फोट भएको ठाउँमा जलेका र क्षतिग्रस्त भएका कारहरूका अवशेषहरू बिहानसम्म हटाइएको छैन । घटनामा घाइते भएका २० जनालाई अस्पताल लगिएको छ । घटनास्थलमा छरिएको भग्नावशेषमा अनुसन्धानकर्मीहरूले विस्फोटको कारण पत्ता लगाउने सङ्केतको खोजी गरिरहेका छन् । दिल्ली प्रहरीका एक अधिकारीका अनुसार घटनास्थलमा अझसम्म कुनै छर्रा फेला परेको छैन ।

“हामी घटनास्थलमा जाँच गर्दै छौँ,” प्रहरी अधिकारी राजा बान्ठियाले सञ्चारकर्मीहरूसँग कुरा गर्दै भने । “विधिविज्ञान प्रयोगशालाले विस्फोटक पदार्थको अंश निकाल्दै छ । त्यो के भन्ने कुरा हामी एक वा दुई दिनमा बताउन सक्छौँ ।” दुर्घटनामा ज्यान गुमाएका व्यक्तिहरूका आफन्तहरू शव राखिएको स्थानमा भेला भएका छन् । शोकमग्न आफन्तहरू शव बुझ्ने तयारीमा छन् ।

मुगल साम्राज्यका समयमा बनेको यो संरचना ३५० वर्षभन्दा पुरानो हो । यसको वरिपरिको क्षेत्र निकै व्यस्त रहन्छ । यो पुरानो दिल्लीका रूपमा चिनिने राजधानी सहरको उत्तरी क्षेत्रमा अवस्थित छ । यो क्षेत्रमा भारतीय राजधानीका अन्य ऐतिहासिक सम्पदाहरू पनि छन् ।विस्फोटको घटनापछि भारतका कैयौँ ऐतिहासिक स्थल र विमानस्थलमा उच्च सुरक्षा सतर्कता बढाइएको छ ।

प्रकाशित मिति : २०८२ कात्तिक २५ गते मंगलबार
ताजा समाचार