
नेपालगञ्ज : बाँकेमा बदाम खेती गर्ने किसानले उत्पादन गरेको बदाम किसानलाई भित्र्याउने चटारो परेको छ । निजिकिदो दिपावली तथा छठको कारण किसान कै खेतबारीबाटै नगदमै खरिद विक्रि हुनेहुँदा यहाँका किसानलाई चटारो परेको हो ।
बदाम खनेको खेतमै व्यापारीले नगदमै उठाईदिदा उनीहरुको लागि नगदेबालीको रुपमा बदाम खेती पर्दै आएको छ । ‘बलौटे माटो छ अरु खेती पनि हुँदैन त्यसैले बदाम खेती गर्दै आएका छौ’–बाँके डुडुवा–६ हिरमिनियाका विष्णुप्रसाद बर्माले भने ।
उनले आफु जान्ने भएदेखि नै बदाम खेती गर्दै आएको बताए ।उसो त उनले धान तथा अन्य खेती पनि गर्दै आएका छन् । बलौटे माटो भएकोले अरु खेती नहुने भएपछि खेतमा सधै बदाम खेती गर्दै आएको उनी बताउछन् । बाँकेको डुडुवाको हिरमिनिया, उचुवा, नरैनापुरको जमुनी, मटेहिया, नेपालगञ्जको जंगली सिंहपुरुवा, खजुराको मानखोलाको किनारलगायतको स्थानमा बदाम खेती हुँदै आएको छ ।
उनको खेतमा वर्षेनी बदाम खेती गरेर आफ्नो गर्जो टार्दै आएको बताए । उनले भने–‘ बदाम खन्न पाएको छैन खेत मै आउछन व्यापारी किन्नका लागि । बदाम खेती आफ्ना लागि नगदे बालिको रुपमा रहेको छ ।’


हिरमिनियाँ कै कमलाप्रसाद मौर्यले पनि ७ कठ्ठामा बदाम खेती गर्दै आएका छन् । वर्षेनी बदाम खेती गर्ने उनलाई आफ्नो उत्पादनले बजार नपाउला भन्ने चिन्ता पनि छैन । ‘खेतमै व्यापारी बदाम किन्न आउछन् । उधारो पनि होईन नगदै कारोबार हुन्छ’–उनले भने ।
उनले बदाम खेती गर्ने किसानका लागि स्थानीय पालिका र कृषि ज्ञान केन्द्रले कुनै सहयोग नगरेको भन्ने दुखेसो पोख्दै भने–‘ झार र किराको कारण उत्पादन कम हुने कुराले आफुहरुलाई चिन्तित बनाउछ । हामी जस्ता किसानलाई पालिका र कृषि ज्ञान केन्द्रबाट सहयोग पाउन सकिएको छैन ।’
कृषि ज्ञान केन्द्र बाँकेका प्रमुख तथा कृषि–अर्थ निर्देशक डा विनोद घिमिरेले बाँकेमा नगदेबालीको रुपमा बदाम खेती हुने गरेको बताए । उनले बाँकेका आठवटै पालिकाको करिव ६ सय ५१ हेक्टरमा बदाम खेती हुने गरेको बताए । ‘खोलाको किनार, बलौटे माटोमा यसको खेति गर्ने गरिएको छ । बाँकेमा बदाम खेती ८ सय ५ मेट्रिक टनसम्म वर्षेनी उत्पादन हुने गरेको पाईएको छ’–उनले भने ।
उनले खासगरेर राप्ती, डुडुवा र मान खोलाको किनार तथा खेती नहुने बलौटे माटोमा राम्रो उत्पादन हुने साथै नगदमै कारोबार हुने गरेकोले पनि बदाम खेती किसानको रोजाईको विषय बन्न सकेको बताए ।
बाँकेमा बलौटे माटो तथा खेर गई रहेको बगर, खोलाको किनारमा नगदे बालीको रुपमा गरिदै आएको बदाम खेतीलाई राज्यको सहयोग हुनसके किसानको जीवनस्तर उकास्न सहज हुने भ्रएकोेले स्थानीय पालिकाले बदाम खेती गर्ने किसानका लागि छुट्टै प्याकेज बनाउन माग समेत गरेका छन् ।



