
नेपालगञ्ज :नेपालगञ्जमा हुन लागेको लुम्बिनी स्पोर्ट्स अवार्डलाई अन्तर्राष्ट्रिय स्पोर्ट्स ब्रान्ड केल्मीले सहयोग गर्ने भएको छ । आगामी मङ्सिर १८ गते नेपालगन्जमा पहिलो पटक हुन लागेको लुम्बिनी स्पोर्ट्स अवार्डलाई केल्मीले सह–प्रायोजन गर्ने भएको हो ।
बिहीबार आयोजक लुम्बिनी स्पोर्ट्स अवार्ड संयोजक चाहना शाह र केल्मी नेपालको प्रतिनिधित्व गर्ने केल्मी नेपालगन्ज सोरुम प्रतिनिधि सिर्जना थपलियाले सम्झौतापत्र आदान–प्रदान गरे ।खेलाडी र खेलकर्मी उपलब्धीलाई सम्मान गर्दै आयोजना हुन लागेको लुम्बिनी स्पोर्ट्स अवार्डमा जोडिन पाउँदा खुसी लागेको थपलियाले बताए । खेलक्षेत्रमा हुने यस्ता सम्मानले नेपाली खेलाडी र खेलकर्मीको मनोबललाई बढाउने काम गर्ने उनको भनाई थियो ।
खेलाडी र खेलकर्मीको योगदानलाई सम्मान गर्ने उद्देश्य सहित नेपालगन्जमा लुम्बिनी स्पोर्टस् अवार्ड हुन लागेको छ । रङ्गशाला नेपाल मिडिया प्रालीले आयोजना गर्न लागेको लुम्बिनी स्पोर्टस् अवार्डमा विभिन्न चार विधामा खेलाडी र खेलकर्मीलाई अवार्ड प्रदान गरिने छ ।

खेलकुद क्षेत्रमा अन्तर्राष्ट्रिय स्तरमा ख्याती कमाएको ब्रान्ड केल्मीसँग सहकार्य गर्ने अवसरले अवार्डलाई थप प्रभावकारी बनाउने लुम्बिनी स्पोर्ट्स अवार्डको संयोजक शाहले बताईन् ।
अवार्डमा लुम्बिनी प्रदेश अन्तर्गतका जिल्लाका खेलाडी, खेलकर्मीले प्राप्त गरेका उपलब्धी र सफलतालाई आधार मानेर अवार्ड प्रदान गर्ने तयारी भइरहेको कार्यक्रम संयोजक चाहना शाहले जानकार दिईन् ।
अवार्डमा उत्कृष्ट पुरुष खेलाडी अवार्ड, उत्कृष्ट महिला खेलाडी अवार्ड, विशेष अवार्ड र उत्कृष्ट टिम अवार्ड प्रदान गरिने छ । रङ्गशाला नेपाल मिडिया २०७३ साल जेठ १८ गते स्थापना भएको संस्था हो । रङ्गशाला नेपाल मिडिया प्रालीले सञ्चार र खेलकुदको क्षेत्रमा काम गर्दै आएको छ ।


