नेपालगञ्ज : माटो परीक्षणबाट माटोको पीएच स्तर, नाइट्रोजन, फस्फोरस, पोटासियमको मात्रा, सूक्ष्म पोषक तत्वको अवस्था, र कार्बनिक पदार्थको अनुपात थाहा पाइन्छ । यद्यपी माटो परिक्षण गराएर कृषि कर्म गरिरहेका किसानको संख्या भने एकदम कम छ ।
हालसम्म लुम्बिनीका २० प्रतिशत किसानले मात्रै माटो परिक्षण गराएका छन् । खजुरास्थित माटो तथा मल परीक्षण प्रयोगशालाको तथ्याङ्क अनुसार लुम्बिनी प्रदेशभर जम्मा २० प्रतिशतले मात्र माटो परीक्षण गराएका हुन् ।
कृषि ज्ञान केन्द्र बाँकेका प्रमुख विनोद अधिकारीका अनुसार माटोको अत्यधिक अम्लीयपन, पोषक तत्वको असन्तुलनले गर्दा बालीमा रोग लाग्ने, बिरुवा कमजोर हुने, फल नलाग्ने समस्या बढ्दो छ । यस्तो अवस्थामा माटो जाँच गरेर आवश्यक मल, चूना वा जैविक सुधारात्मक उपाय अपनाएमा खेती सुधारिन सक्ने उनको भनाई छ ।
माटो तथा मल परीक्षण प्रयोगशाला खजुराका प्राविधिक खेम बहादुर केसीका अनुसार लुम्बिनी प्रदेश सरकारले किसानलाई माटो परीक्षण खेतीको अनिवार्य सुरुवात हो भन्ने सन्देश फैलाउने उद्देश्यले विभिन्न स्थानमा शिविर सञ्चालन गरिरहेको छ ।


यसैविच, नेपालगन्ज उप–महानगरपालिका, कोहलपुर नगरपालिका, राप्ती सोनारी गाउँपालिका लगायतका क्षेत्रहरूमा सञ्चालनमा आएका माटो परीक्षण शिविरहरूले पछिल्लो समय किसानमा विज्ञानमा आधारित खेती गर्ने सोच बढाएको छ । स्थानीय किसानहरूमा चेतना भने विस्तार हुँदैछ ।
पहिले–पहिले माटो परिक्षण गर्ने कुरा थहै नपाएको कोहलपुरका किसान रमेश चौधरी भनाई छ । अम्लिय पदार्थ धेरै भएको उनको माटोमा उब्जनी पनि राम्रो सङ्ग हुदैनथ्यो । तर गत वर्ष परीक्षण गराएसंगै अहिले उनको त्यहि खेतबाट पहिलेभन्दा ४–५ मुरी बढी धान फल्न थालेको छ ।
खजुरा गाउँपालिका वडा नम्बर –२ का किसान लाल बहादुर खत्रीले पनि गत वर्ष आफ्नो खेतको माटो परिक्षण गराएका थिए । माटो परिक्षण पछि अम्लिय पन तथा क्षारिय पदार्थ देखा परेकोले माटोमा हरियो मल र प्राङ्गारिक मल प्रयोग गर्नु पर्ने जानकारी पाए र त्यसै अनुसार काम गरे । अहिले उनको पनि उब्जनी बढ्दै गएको छ ।
अब माटो परिक्षणका लागि किसानहरुलाई चेतना अभिवृद्धि का लागि समेत काम गर्नु पर्ने देखिएको लुम्बिनी प्रदेशका पुर्व कृषि तथा सहकारी मन्त्री आरती पौडेलको भनाई छ ।