
नेपालगञ्ज : समृद्धि फाउण्डेशन नेपाल बाँकेले सामाजिक हानीकारक अभ्यासको विरुद्धमा संचालन हुने अभियानलाई सफलपार्न नेपालगञ्ज उपमहानगरपालिकाको सबै वडामा युवाक्लब गठन कार्यलाई तीब्र पारेको छ ।
युएसएडको सहयोग र द एसिया फाउन्डेशन मु्ख्य कार्यान्वयन संस्था रहेको युएसएड नागरिक समाज तथा सञ्चार कार्यक्रम अन्तर्गत राष्ट्रिय युवा परिषद्ले जारी गरेको युवाक्लब गठन कार्यविधि २०७५ अनुसार १६ देखि २४ वर्ष उमेर समुहको वडास्तरीय युवाक्लब गठन कार्यक्रम संचालन गरिएको कार्यक्रम संयोजक शकील खानले जानकारी दिए ।
उनले युवाहरूमा सशक्ति करण, सामाजिक एकता प्रवद्र्धनका साथै सामुदायिक संलग्नतालाई प्रोत्साहित गर्न र सक्रियता बढाउन शुरु गरिएको युवाक्लब गठनको कार्यक्रम हालसम्म १७ वटा वडामा सम्पन्न भई सकेको बताए ।
मुस्लिम समुदायमा रहेको बालविवाहको अभ्यासलाई युवाहरुको सहभागिता र पहलमार्फत न्युनिकरण गर्ने परियोजना अन्तरगत गठन भईरहेको युवाक्लब कार्यक्रम अन्तरगत पुस २९ गते सोमवार नेपालगन्ज वडा नं. १० र १३ तथा माघ ३ गते विहीवार वडा नं. १७ मा युवाक्लब गठन गरिएको हो ।

प्रत्येक वडामा रहेका १६ देखि २४ वर्ष उमेर समूहका ५० प्रतिशत महिला रहने गरि मधेसी मुस्लिम र पछाडि पारिएको सिमान्तकृत समुदायका पत्रकार, खेलाडी, कलाकार र अपाङगता भएका युवालाई क्लबमा समावेश गरिने समृद्धि फाउण्डेशन नेपालले जनाएको छ ।
योजना कार्यान्वयनमा स्थानीय जनप्रतिनिधी, सामाजिक अगुवा, राजनीतिक दलका प्रतिनिधी, लक्षित समुह र सामुदायिक संस्थाहरूलाई संलग्न गराउने र वडा स्तरीय जनप्रतिनिधी र स्थानीय सरकारलाई युवाक्लबलाई दिर्घकालीन रुपमा सक्रिय बनाउन जवाफदेही हुने अवस्था निर्माणको पहल संस्थाले गरिरहेको कार्यक्रम संयोजक खानले बताए ।
बालविवाह, दाईजो प्रथालगायतका सामाजिक हानिकारक अभ्यास न्युनिकरणका लागि युवाहरुको संगठन निर्माण गरि सामुदायिक गतिविधिहरूमा युवाहरूको सहभागिता वृद्धि गराउने र स्थानीय युवाहरु बिच बलियो सामुदायिक सम्बन्ध स्थापनामा मद्दत गरि अभियानका लागि सचेत, सजग र सशक्त युवाहरूको उपलब्धता हुने संस्थाको लक्ष्य रहेको उनले बताए ।



