निर्माण व्यवसायीलाई उच्च मनोबलका साथ काम गर्न अर्थमन्त्री पौडेलको आश्वासन

सदरलाइन संवाददाता २ श्रावण २०८१, बुधबार २०:२१
 

काठमाडौं : उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले निर्माण व्यवसायीले भुक्तानी नपाएको भन्ने गुनासोलाई सरकारले चाँडै सम्बोधन गर्ने बताएका छन् । नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) का पदाधिकारीसँग आज मन्त्रालयमा भएको छलफलमा अर्थमन्त्री पौडेलले यस्तो बताएका हुन ।

एफएनसीसीआईका पदाधिकारीलाई अर्थमन्त्री पौडेलले निर्माण व्यवसायीले काम गरेबापत सरकारबाट पाउनुपर्ने भुक्तानी अव नरोकिने कुरामा जोड दिदै भने–‘निमाण व्यवसायीले भुक्तानी पाएनन भन्ने जुन गुनासो छ, यो गुनासो अब धेरै दिन सुन्न पर्दैन । राज्यका निकायले ठेक्का लगाएर काम सम्पन्न भएको छ भने जुनसुकै उपायबाट पनि त्यसको भुक्तानी हुन्छ । अब गुनासो गरिरहने अवस्था आउँदैन ।’

यस्तै उद्योगी र नेपाल बिद्युत प्राधिकरणबीच लामो समयदेखि चलिरहेको ‘डेडिकेटेड’ र ‘ट्रकलाईन’को विद्युत महसुल बक्यौता विवाद विवादमा प्रधानमन्त्री केपी शर्मा ओलीले नै चासो राख्नुभएको भन्दै अर्थमन्त्री पौडेलले सो विवाद पनि कानुन अनुसार सुल्झाइने बताए ।

‘डेडिकेटेड र ट्रङ्कलाइन विवाद कसरी समाधान गर्ने भनेर प्रधानमन्त्रीले नै सरकारको दृष्टिकोण राखिसक्नु भएको छ । यो विषयलाई त्रास र आतङ्कका रुपमा नलिनुस । गैरकानुनी ढङ्गले सरकारले कुनै दायित्व सिर्जना गर्दैन’, निजी क्षेत्रका प्रतिनिधिसँग अर्थमन्त्री पौडेलले भने, ’यदि कसैले गैरकानुनी रुपले उद्योगीलाई दायित्व सिर्जना गर्न खोजेको छ भने त्यो कोसिस सफल हुँदैन । यो समस्या समाधान गर्नका लागि केही समय लाग्यो । अब तपाईहरु डेलिगेसन आइरहनु पर्ने अवस्था रहँदैन ।’

उनले सरकार निजी क्षेत्रको अविभावकका रुपमा रहेकाले सबै गुनासो र समस्या सुन्न तथा यसको समाधान खोज्न तयार रहेको पनि प्रष्ट पारे । ’सरकार अविभावकको रुपमा रहेर निजी क्षेत्रको विश्वास र भरोसा टुट्न दिने छैन । राज्यले संरक्षण दिन्छ भन्ने आत्मविश्वासका साथ राष्ट्र निर्माणमा योगदान गर्नुस,’ अर्थमन्त्री पौडेलले थपे, ’तपाईंहरुले आफूलाई निरीह, कमजोर र असहाय नठान्नु होला । समस्याको समाधान एकै टेबुलमा बसेर, मिलेर नै खोज्ने हो । निजी क्षेत्रले खोजेको समाधान सरकारलाई मान्य हुने र सरकारको खोजेको समाधान निजीक्षेत्रलाई मान्य हुने गरी समाधान खोजौं ।’


उनले विकास तथा समृद्धि यात्रामा सरकार र निजी क्षेत्र सहयात्री भएकाले कुन एक पक्षले अर्को पक्षलाई बिर्सिएर जान नसकिने पनि बताए । पछिल्लो समय सबैभन्दा ठूलो चुनौती आमसर्वसाधारण र निजी क्षेत्रमा खस्किएको मनोबल उकास्नु रहेको भन्दै अर्थमन्त्री पौडेलले त्यस दिशामा सरकार लागि पर्ने बताए ।

‘पछिल्लो दिनमा माग र आपूर्ति घटेको छ । राजस्व घटेको छ । पुँजीगत खर्च घटेको छ । सबैभन्दा ठूलो मुख्य चुनौती भनेको मान्छेको मनोबल घटेको छ,’ अर्थमन्त्री पौडेलले भने, ‘सबै समस्याको समाधान भेटिन्छ तर, टुटेको मनोबलको समाधान भेटिन्न । यसकारण तपाईहरु उच्च मनोबलका साथ काम गर्नाेस । सरकार तपाईहरुसँगै छ ।’

अर्थमन्त्री पौडेलले अहिले निजी क्षेत्र लगानी बढाउने भन्दा पनि व्यवसाय कसरी टिकाइराख्ने भन्ने चिन्ताबाट ग्रसित भएकाले त्यसलाई सहजीकरण गर्न सरकारका तर्फबाट गर्नुपर्ने नीतिगत, संरचनागत र व्यवहारिक सुधारमा आफू सधैँ तयार रहेको जानकारी दिए ।

‘सरकारले निजी क्षेत्रलाई नीतिगत रुपमा सहजीकरण, सहयोग र सहकार्य गर्ने नीति लिन्छ । निजी क्षेत्रलाई काम गर्न अप्ठेरो भएका नीति सहजीकरणका लागि सरकार तयार छ । कुन नीतिमा सरकारले कस्तो सहयोग गर्नुपर्छ भनेर तपाईहरुबाट सुझाव आवस’, उनले भने ।

नेपाल उद्योग बाणिज्य महासंघका अध्यक्ष चन्द्र ढकालको नेतृत्वमा आएको टोलीले अर्थमन्त्री पौडेलसँग सरकारसँग नीजिक्षेत्रको अपेक्षाबारे आफ्नो धारणा राखेको थियो । सो क्रममा महासंघका अध्यक्ष ढकालले आन्तरिक तथा बाह्य दुवै लगानीकर्ता, उद्योगी र आम उपभोक्ता तथा नागरिकमा उत्साह र आत्मविश्वास बढ्ने गरी अघि बढ्नुपर्ने बताए । अध्यक्ष ढकालले मुलुकको अर्थतन्त्रीलाई सुधार गर्नका लागि सवै सरोकारवाला सम्मीलित आयोग बनाउनुपर्ने सुझाव समेत दिए ।

ढकालले नयाँ सरकार बनेसंगै निजी क्षेत्रलाई व्यवसाय विस्तार र अर्थतन्त्र पुनरोत्थानमा सहज हुने विश्वास समेत व्यक्त गरे । अध्यक्ष ढकाल नेतृत्वको टोलीले मंगलवार साँझ प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेट गरी समग्र समस्या र समाधानको बिषयमा अवगत गराएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

नेपालगञ्ज भन्सार कार्यालयबाट लक्षको ६३. ३४ प्रतिशतमात्र राजस्व संकलन

२ श्रावण २०८१, बुधबार २०:२१
नेपालगञ्ज :  नेपालगञ्ज भन्सार नाकावाट आर्थिक वर्ष २०८०–०८१ मा भन्सार विभागबाट तोकिएको लक्ष अनुसारको राजस्व असुली हुन सकेको छैन । खुला सिमानाको कारण हुने अनाधिकृत चोरी निकासी र सो नाका हुँदै आयात हुने पेट्रोलियम पदार्थ खासगरी डिजल, चिनी र चामलको आयात घटेको कारण लक्ष पुग्न नसकेको प्रमुख भन्सार अधिकृत धु्रबराज […]