सदरलाइनडटकम,
सल्यान : सल्यानस्थित सामुदायिक वनमा लागेको आगो निभाउने क्रममा एक महिलाको मृत्यु भएको छ । छत्रेश्वरी गाउँपालिका ६ सिमपानीमा लागेको आगो निभाउने क्रममा सोही ठाउँकी ५५ वर्षीया पेन्टी बोहराको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ ।
वनमा लागेको आगो बस्तीमा आउन थालेपछि आगो निभाउने क्रममा उनको मृत्यु भएको प्रहरीले बताएको छ । आगोमा परी सोही ठाउँका ४४ वर्षीय खगेन्द्र बोहरा घाइते भएको र उनको जिल्ला अस्पताल सल्यानमा उपचार भइरहेको छ ।
सिमपानी बस्ती जंगलको बीचमा भएको र उक्त बस्ती आगोको उच्च जोखिममा रहेको छत्रेश्वरी गाउँपालिका ६ का वडाध्यक्ष चूडामणि दसौदीले जानकारी दिए । भीषण आगलागी भएकाले नियन्त्रण गर्न निकै समस्या भएको बताइएको छ । आगो नियन्त्रण गर्न नेपाली सेना, नेपाल प्रहरी, शसस्त्र प्रहरी, जनप्रतिनिधि, स्थानीय प्रयासरत छन् ।
