काठमाडौं : गैरसरकारी संस्था महासङ्घ नेपालको ११ औ महाधिवेशनबाट अर्जुन भट्टराईको नेतृत्वमा नवनिर्वाचित केन्द्रीय कार्यसमितिका पदाधिकारीहरूले सभामुख देवराज घिमिरेसँग भेटघाट गरेका छन् ।
भेटघाटमा राष्ट्रिय नागरिक सम्मेलनको निष्कर्षको रूपमा तयार पारिएको घोषणापत्र सभामुखलाई हस्तान्तरण गरिएको थियो ।
भेटमा नवनिर्वाचित अध्यक्ष भट्टराईले सङ्घ संस्थाहरूको दर्ता तथा सञ्चालनका लागि नयाँ एकीकृत ऐनको मस्यौदा तयार गर्ने कार्य सुरु भएको सन्दर्भमा सङ्घ संस्थाहरूसँग पर्याप्त समन्वय र परामर्शका आधारमा मात्र कानुन निर्माण गर्न सभामुखको ध्यानाकर्षण गराए ।


नयाँ ऐनलाई मानव अधिकार, लोकतन्त्र, सामाजिक सङ्घ संस्था र नागरिक समाज मैत्री बनाउन पनि सभामुखलाई आवश्यक पहल गर्न महासँँघअको टोलिले अनुरोध गरेको छ ।
सभामुख घिमेरेले सामाजिक सङ्घ संस्थाहरूप्रतिको छवी सुधार्न सुझाव दिँदै सङ्घ संस्थाहरूले आफ्ना क्रियाकलापहरू राष्ट्रिय प्राथमिकता र हित अनुकूल भएको सुनिश्चित गर्न पनि सुझाव दिए ।
सङ्घ संस्थामैत्री कानुन निर्माणका लागि सङ्घ संस्थाहरू र सरोकारवालाहरूसँग पर्याप्त परामर्श र छलफल पछि मात्रै अगाडि बढाउनुपर्ने बताउँदै यस सन्दर्भमा आफ्नो प्रयास सकारात्मक रहने पनि प्रतिबद्धता सभामुखले व्यक्त गरे ।