होलीका दहन गरी होली मनाईने परम्परादेखि डिजे प्रयोग गरी होली मनाउनेसम्म

लक्ष्मी तिमिल्सेना ३० फाल्गुन २०८१, शुक्रबार १९:०१
 

नेपालगञ्ज :  नेपालको पहाडी र हिमाली क्षेत्रमा विहिवार रङ्ग खेलेर मनाइएको फागु पर्व अर्थात् होली तराईमा भने शुक्रवार (आज) मनाइँदै छ । असत्यमाथि सत्यको जित र हर्षका रूपमा अनि वसन्त ऋतुको उमङ्गमा मनाइने यो पर्वबारे पुराणहरू र प्राचीन संस्कृत साहित्यमा पनि उल्लेख छ ।

होलीबारे विष्णुका भक्त प्रह्लाद र होलिका–दहनसँग सम्बन्धित रहेका कथाहरू प्रचलित छन् । पहिलेको होली र अहिलेको होलीमा फरक देखिन थालेको छ । फागु पूर्णिमाको चलन चल्नुमा होलिकासँग जोडिएको किंवदन्ती प्रख्यात छ ।

उक्त किंवदन्ती अनुसार दैत्यराज हिरण्यकश्यपुले आफ्ना विष्णुभक्त पुत्र प्रह्लादलाई मार्ने उद्देश्यले ब्रह्माबाट आगोले छुन नसक्ने वरदान पाएकी आफ्नी बहिनी होलिकालाई प्रह्लादका साथ दन्किरहेको आगोमा पस्न लगाएका थिए । तर प्रह्लादलाई केही नभएको तर, होलीका भने जलेको कथामा उल्लेख छ ।

त्यसै बेलादेखि शक्तिको दुरुपयोग गर्ने प्रवृत्तिकी प्रतीक बनेकी होलिका मारिएको उपलक्ष्यमा फागु खेल्ने परम्परा चलेको विश्वास गरिन्छ । द्वापरयुगमा कृष्णलाई मार्न कंशद्वारा पठाइएकी पुतनाले आफ्नो विष दलिएको स्तन चुसाउन लाग्दा असफल भई मारिएको कथासँग पनि होली जोडिने बताइन्छ । उनलाई व्रजवासीले जलाई फागु महोत्सव मनाउने परम्परा चलेको धर्मग्रन्थमा उल्लेख गरिएको छ ।

उमंगको पर्वको रुपमा रहेको होली पर्व बाँकेमा पनि धुमधामका साथ मनाईएको छ । नेपालगञ्जका विभिन्न स्थानहरुमा विभिन्न कार्यक्रमको आयोजना गरी होली पर्व मनाईएको हो ।

नेपालगञ्जका विभिन्न स्थानहरुमा डिजेसहित आयोजना गरिएको होलीमिलन कार्यक्रममा युवायुवतीहरुले रंग अविरको रंगिन परिवेषमा झुम्दै होलि पर्व मनाएका हुन् । यसैगरी सेतुविक चोक, त्रिबेणी मोड, बसपार्क, त्रिभुवन चोक लगायतका ठाउहरुमा विभिन्न सांस्कृतीक कार्यक्रमका साथ होलि खेलिएको थियो ।


बाँकेका पत्रकारहरुले पनि सामुहिक रुपमा होली खेलेर होलि मनाएका छन् । नेपाल पत्रकार महासंघ बाँकेले नेपालगञ्जमा आयोजना गरेको होलि मिलन समारोहमा बाँकेका पत्रकारले पर्वलाई पर्वकै रुपमा मनाउन आग्रह गरे ।

यसैविच, होली पर्वका बेला विभिन्न खाले विकृति निम्तिएको र जबरजस्ती रङ्ग दलिदिने तथा लोला हान्ने प्रवृत्ति कायम रहेको भन्दै चिन्ता व्यक्त गर्नेहरू पनि छन् । भने, स्थानीय प्रशासनले सौहार्दपूर्ण रूपमा होली मनाउन आग्रह गर्दै कसैलाई अनावश्यक दुःख दिइए कारबाही गर्ने चेतावनी दिएका छन् ।

बाँके प्रहरीले होली पर्वलाई लक्षित गरेर बाँकेमा सुरक्षा व्यवस्था कडा पारेको छ । पर्वमा कुनै आपराधिक घटना हुन नदिन सुरक्षाको अवस्था निगरानी हुने गरी योजना बनाएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय बाँकेका प्रमुख तथा एसपी तुलबहादुर कार्कीले कानुन विपरित तथा कसैको इच्छा विपरितका कार्य गरे कानुनी कारवाही गरिने बताएका छन् ।

विशेष सुरक्षा योजना अन्तर्गत प्रहरीको टोलीले पर्वमा हुनसक्ने आकस्मिक अप्रिय घटना रोक्न आफूहरूले काम सुरु गरेको उल्लेख गर्दै उनले त्यो काम अझ प्रभावकारी होस् भनेर त्यसप्रकारको काममा आवश्यक जनशक्ति प्रयोग गरिने समेत उनले बताए ।

पहाडी समुदायमा होली अघिल्लो दिन मनाईन्छ भने तराई÷मधेसको होली पछिल्लो दिन मनाउने चलन छ । यद्यपी पछिल्ला समय केहि दिन अघि देखि केहिदिन पछिसम्म विभिन्न कार्यक्रमहरु समेत गरि होली मनाउने प्रचलन बढ्दो छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

अवधको होली छुट्टै चलन छुट्टै महत्व

३० फाल्गुन २०८१, शुक्रबार १९:०१
  ‘‘सिया डाले रे सिया डाले रे… सिया डाले राम गले जयमाला… सिया डाले… रामचन्द्र दुलहा बन आये,रामचन्द्र दुलहा बन आये… वाह…लछुमन रे वाह…लछुमन रे’’ नेपालगञ्ज :  यो मौलिक गीत मधेसको शहर तथा गाउँ देहातमा होलिका बेला गाईने प्रचलित गीत हो । यो ‘धमार’ गीतहो । जसलाई होलीका अवसरमा श्रद्वा […]

ताजा अपडेट