नेपालगञ्ज : आउदो चैत ८ गतेदेखि प्रदर्शनमा आउन थालेको नेपाली चलचित्र द्रौपदीको प्रचार प्रसारका लागि निर्माण पक्ष देश दौडाहामा निस्किएको छ । प्रदर्शनको तयारीमा रहेको चलचित्र (द्रौपदी)का लेखक/ निर्देशक/ कलाकार ऋषिराज आचार्य, गायक/ अभिनेता रवि ओड, अभिनेत्री आश्विनी शाही, सुजाता तिमिल्सेना, निर्माता प्रकाश ज्ञवाली लगायतको टिम प्रचार प्रसारका क्रममा बिहिबार नेपालगञ्जमा आईपुगेको थियो ।
यसैक्रममा चलचित्र पत्रकार संघ बाँके शाखाको आयोजनामा पत्रकार सम्मेलन समेत गरिएको थियो । त्यसै अवसरमा बोल्दै चलचित्रका लेखक ऋषिराज आचार्यले चलचित्र डोल्पाको से–फोक्सुन्डोलगायत विभिन्न पर्यटकिय तथा ग्रामिण स्थलहरूमा छायांकन भएको बताए । आचार्यले उक्त चलचित्रले महिला सशक्तिकरणको कथा बोकेको बताउदै यो चलचित्रले अन्तराष्ट्रिय सिनेमा क्षेत्रमा पनि नेपाललाई ‘रि–प्रिजेन्ट’ गरेर विभिन्न उपाधि समेत हासिल गर्न सफल भएको जानकारी दिए ।


चलचित्र द्रौपदी एक नेपाली ग्रामिण बस्तीको कथा भएको र त्यसमा ग्रामिण समुदायले भोग्नु परेका अफ्ठ्याराहरुलाई चित्रण गरेको बताइएको छ । चलचित्रको नाम (द्रौपद्री) धार्मिक सुनिए पनि यो महाभारतको पात्र नभई नेपाली ग्रामिण परिवेशकै एक महिला पात्रको कथा भएको बताइएको छ ।
अन्तर्राष्ट्रिय बजारलाई समेत लक्षित गरी सामाजिक कथामा निर्माण भएको फिल्ममा आश्विनी शाही, रवि ओड, कविराज भाम, जेएलसन अधिकारी, सुजाता तिमल्सिना, विष्णु ठडराई, प्रकाश ज्ञवाली, सीता बौडेल, सुरज अधिकारी र निर्देशक आचार्यको अभिनय छ । फिल्मका सबै नयाँ कलाकार हुन् । आरवी मुभिजको ब्यानरमा निर्माण भएको चलचित्रमा सौरभ शर्मा बस्यालले पाश्र्वसङ्गीत र मोहनकुमार झिल्लुले छायाकंन गरेका छन् ।
चलचित्र पत्रकार संघका अध्यक्ष रामचन्द्र पौडेलको अध्यक्षतामा सम्पन्न उक्त पत्रकार सम्मेलन कार्यक्रममा नेपालपत्रकार महासंघ बाँकेका अध्यक्ष नविन गिरीले सहभागिलाई स्वागत गरेका थिए । कार्यक्रमको सन्चालन भने चलचित्र पत्रकार संघका कार्यकारी सचिव लक्ष्मी तिमिल्सेनाले गरेकी थिईन् ।