बाँकेमा आयुर्वेद उपचारमा आकर्षण

सदरलाइन संवाददाता १४ फाल्गुन २०८०, सोमबार १५:२९
 

नेपालगञ्ज : बाँके जिल्लामा सञ्चालित आयुर्वेद स्वास्थ्य केन्द्र तथा नागरिक आरोग्य सेवा केन्द्रप्रति स्थानीयको आकर्षण दिनानु दिन बढ्दै गएको छ ।

आयुर्वेद औषधीको कुनै पनि साइड इफेक्ट नभएको र सो उपचार पद्धतिबाट रोगलाई जरैबाट समाप्त गर्न सकिने हुँदा बिरामीको आकर्षण बढ्दै गएको आयुर्वेद स्वास्थ्य केन्द्र तथा नागरिक आरोग्य सेवा केन्द्र बाँकेका सूचना अधिकारी सिताराम चौधरीले बताए ।

उनले चालु आर्थिक वर्षको पुस मसान्तसम्म ६ महिनाको अवधिमा मात्र आयुर्वेद केन्द्रबाट १९ हजार २३८ जनाले उपचार सेवा लिएको जनाउँदै यस वर्ष गत वर्षभन्दा बढीले सेवा लिने अनुमान गरिएको बताए ।

आयुर्वेद स्वास्थ्य केन्द्र तथा नागरिक आरोग्य सेवा केन्द्रका अनुसार, साउनमा ३ हजार १७६, भदौमा ३ हजार २१, असोजमा ३ हजार ६३१, कात्तिकमा २ हजार ६००, मङ्सिरमा ३ हजार १०१ र पुसमा ३ हजार ७०९ ले उपचार सेवा लिएका छन् ।


सो केन्द्रमा आएर उपचार सेवा लिने सबैभन्दा बढी १७ देखि ५९ वर्ष उमेर समूहका बिरामीहरू रहेका थिए । उक्त उमेर समूहका १३ हजार बढीले त्यहाँ पुगेर ६ महिनामा उपचार सेवा लिएको केन्द्रका सूचना अधिकारी चौधरीले बताए । उनले गत आर्थिक वर्ष २०७९/०८० मा सो केन्द्रबाट ४१ हजार ३४ जनाले आयुर्वेद उपचार सेवा लिएको पनि बताए ।

बाँकेका आयुर्वेद स्वास्थ्य केन्द्रमा बाँके, बर्दिया, सल्यान, रुकुम, जाजरकोट, मुगु लगायतका जिल्लाबाट समेत बिरामी उपचारका लागि आउने गरेको जनाइएको छ । बाँकेमा सञ्चालित आयुर्वेद स्वास्थ्य केन्द्रहरूबाट उपचार सेवा लिनेहरू बढ्दै जाँदा ती केन्द्रमा पुगेर विभिन्न खालको थेरापी सेवा लिनेहरूको सङ्ख्या पनि बढिरहेको केन्द्रले जनाएको छ ।

चालु आर्थिक वर्षको ६ महिनामा थेरापी सेवा मानिने पूर्व पञ्चकर्म सेवा २ हजार ९१० बिरामीले लिएको केन्द्रको तथ्याङ्कमा उल्लेख छ । त्यस्तै ज्येष्ठ नागरिक तर्फ ९२७ ले सेवा लिएका थिए । योग सेवा लिनेको सङ्ख्या दुई हजार २८७ रहेको छ भने स्तनपायी सेवा ६३५ जना आमाले प्राप्त गरेको आयुर्वेद स्वास्थ्य केन्द्रले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

म्याजिक दुर्घटनामा घाइते शाहीको मृत्यु

१४ फाल्गुन २०८०, सोमबार १५:२९
नेपालगञ्ज : आइतवार म्याजिक दुर्घटनामा परी घाइते भएको कोहलपुर ३ मदनचोक बस्ने ८१ वर्षीया बृद्धा कौशिल्या शाहीको उपचारका क्रममा सोमवार विहान मृत्यु भएको छ । उनको नेपालगञ्ज नर्सिङहोममा मृत्यु भएको हो । बर्दियाको बाँसगढीबाट नेपालगञ्ज आउँदै गरेको भे १ ज १२०७ नम्बरको म्याजिक भ्यान कोहलपुर ४ किरणखोला नजिकै दुर्घटनामा परेको […]

सम्बन्धित