२०८३ कात्तिक ५ , बुधबार
Sadarline
२०८३ कात्तिक ५ , बुधबार

आमाबुबा अशक्त भएपछि छोराछोरीको बिचल्ली



बैजनाथ (बाँके) : बाँकेको बैजनाथ गाउँपालिका–७ पेडारीका रामकृष्ण थारु र लालमोहनी थारुको परिवार केहीवर्ष अघिसम्म हाँसीखुसी थियो । दैनिक घर परिवार चलाउन कुनै समस्या थिएन । पति, पत्नी, आमा, २ छोरी र एक छोरा सहित ६ जनाको परिवार गाउँकै नमुना परिवारको रूपमा थियो । रामकृष्णले पक्की घर बनाउन जग समेत हालिसकेका थिए ।

तर एकाएक थारु परिवारमा दुःखका दिन शुरु भए । पाँचवर्ष अघि पत्नी लालमोहनी अकस्मात् बिरामी भइन् । उनका हात खुट्टा चल्दैनन् । एक ठाउँबाट अर्को ठाउँमा सर्न समेत सहयोगी चाहिन्छ ।

पत्नीको यस्तो अवस्था भए पनि रामकृष्ण शारीरिक रूपमा तन्दुरुस्त भएका कारण घर परिवारमा आर्थिक अभाव आएको थिएन । तर पत्नी बिरामी भएको अर्को वर्ष रामकृष्ण समेत बिरामी परे । उपचारमा ७–८ लाख रुपैयाँ खर्च भयो । अहिले रामकृष्ण पनि हिँडडुल गर्न नसक्ने भएका छन् । ह्विलचियरमा बस्न समेत सहयोगी चाहिने अवस्था छ ।

पति, पत्नी नै हिँडडुल गर्न नसक्ने भएपछि थारु परिवारमा साँझ बिहान के खाने भन्ने चिन्ताले सताउने गरेको छ । उनकी जेठी छोरी कक्षा ९, कान्छी छोरी कक्षा ६ र छोरा कक्षा १ मा अध्ययनरत छन् । माटोको घर समेत जीर्ण भइसकेको छ ।

रामकृष्ण भन्छन्, ‘जेठी छोरी बाल विकासदेखि नै प्रथम हुन्छिन्, अहिले दुवै जना हिँडडुल गर्न नसक्ने भएपछि साँझ बिहान के खाऔँ भन्ने समस्या छ, छोराछोरीलाई कसरी पढाउने होला ?’

राज्यबाट प्राप्त लालमोहनीको पूर्ण अपाङ्गता र रामकृष्णको आंशिक अपाङ्गता भत्ताले घर खर्च चलाउन नपुगेपछि थारु परिवारलाई आफन्त र छिमेकीले पनि केही सहयोग गर्दै आए पनि दैनिक गुजरा चलाउन कठिनाइ भइरहेको लालमोहनीको भनाई छ । चिसो शुरु हुन लाग्दा समेत थारु परिवारमा न्यानो कपडा समेत अभाव रहेको छ ।

प्रकाशित मिति : २०८० मंसिर १२ गते मंगलबार
ताजा समाचार