मंगलवार गोबर्द्धन पूजा गरिँदै

सदरलाइन संवाददाता २८ कार्तिक २०८०, मंगलवार १३:५८
 

नेपालगञ्ज : तिहार अन्तर्गत मंगलवार गोवर्द्धन पूजा हुँदैछ । आज गोरु, किसान र हलोको पूजा गर्ने गरिन्छ ।

आँगनमा लिपपोत गरी गाईको गोबरको पर्वत बनाई त्यसलाई गोवर्द्धन पर्वत मानी पूजा गर्ने गरिन्छ । द्वापरयुगमा भगवान श्रीकृष्णले हत्केलाले गोवर्द्धन पर्वत उचाली गोकुलवासीलाई मुसलधारे वर्षाबाट बचाएको सम्झनामा गोवर्द्धन पर्वतको पूजा गर्ने प्रचलन बसेको धर्मशास्त्रविद् प्रा.डा. रामचन्द्र गौतम बताउँछन् ।

कार्तिक शुक्ल प्रतिपदाका दिन यो पर्व मनाइन्छ । गोवर्द्धन पूजा प्रतिपदाका दिन सूर्योदय भएका दिन गर्नुपर्ने विधि रहेको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ । भगवान विष्णुले बलि राजालाई यमपञ्चकका पाँच दिन मर्त्त्यलोकको शासन गर्ने अधिकार दिएको विश्वासका आधारमा आज बलि राजाको पनि सम्झनास्वरूप पूजा आराधना गरिन्छ ।


यसैकारण तिहारमा देउसी भैलो खेल्नेले हामी त्यसै आएनौँ बलि राजाले पठाए भनेर भट्याउने चलन चलेको हो । यस्तै, वर्षभर जोतिएर मानव हितका लागि सेवा गर्ने गोरुलाई पनि आज पूजा गरी मीठामीठा खानेकुरा खान दिने प्रचलन छ । यसैगरी वर्षभर गोरु जोत्ने हली एवं अन्य कृषि कर्म गर्ने किसानलाई पनि आज पूजा गरी मीठामीठा परिकार खुवाइन्छ ।

यसैले आजको दिनलाई हली तिहार पनि भनिन्छ । बुधवार तिहारको मुख्य दिन भाइटीका मनाइँदैछ । बुधवार बिहान १० बजेर ५१ मिनेटमा टीकाको उत्तम साइत रहेको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ । बुधवार दिनभरि नै टीका लगाउन सकिने समितिले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

भेरीमा थप दुई जना भूकम्पका घाइतेलाई ल्याइयो

२८ कार्तिक २०८०, मंगलवार १३:५८
नेपालगञ्ज : भूकम्पमा परी घाइते भएका थप दुई जना बिरामीलाई उपचारका लागि नेपालगञ्जस्थित भेरी अस्पतालमा ल्याइएको छ । जाजरकोटबाट थप उपचारका लागि दुई जना भूकम्पका घाइतेलाई मंगलवार बिहान भेरी अस्पतालमा ल्याइएको हो । बारेकोट गाउँपालिका ५, नायकबाडा जाजरकोटका ६३ वर्षीय गोपाल दमाई र सोही गाउँपालिका वडा नं. ७, सुवाकोटका ६ […]

सम्बन्धित

ताजा अपडेट