सदरलाइनडटकम ,
राप्तीसोनारी (बाँके) : संघिय सांसद महेश्वर गहतराज अथकले बघौडा क्षेत्रमा विद्युतिकरणको लागि भएको लामो समयदेखिको प्रयासले मुर्तरुप पाउदै आउदो चैत्रसम्ममा जुनसुकै अवस्थामा पनि बघौडा क्षेत्र विद्युतिकरण भएरै छाड्ने ठोकुवा गरेका छन् ।
उनले बघौडा क्षेत्रको विकासको लागि बजेटको कारणले रोकिनु पर्ने अवस्था नभएको कुरामा जोड दिदै स्थानीय सरकारको रुपमा रहेका स्थानीय तहले पनि अपनत्व लिन आग्रह गर्दै भने–‘बघौडा क्षेत्रको विकासको लागि विद्युतिकरणले संभावनाका ढोका खोल्ने छ सडक, शिक्षा र विद्युतको पहुँचले नै विकासको बाटो देखाउछ ।’ उनले बघौडा क्षेत्रको विकाससंगै सदरमुकाम नेपालगञ्जसंग जोडिने भएकोले पनि अव संभावनाका धेरै ढोका खोलिने कुरामा जोड दिए ।
उनले केही डलरबादीहरुका कारण विकासमा बाधक भएको कुरामा जोड दिदै भने–‘कोहलपुर–धामपुर ३३ केभिए प्रशारण लाईनको बाटोमा पर्ने २१४ वटा रुख कटानको विषयलाई केही डलरबादीहरुले विभिन्न खालका हत्कण्डा अपनाउलान तपाईहरु सचेत रहनु होला एक रुख बराबर २५ विरुवा रोपेर हुर्काउदै बनलाई हस्तान्त्रण गर्ने गरी २६ बुँदे सम्झौता भएको छ ।’ उनले विकासमा सबैको सहयोग आवश्यक हुने भएकोले सबैले आ–आफ्नो क्षेत्रबाट सहयोगको लगि जुट्न आग्रह गरे ।
सो अवसरमा राप्ती सोनारी गाउपालिकाका अध्यक्ष लाहुराम थारु, उपाध्यक्ष घनिकुमारी खत्री, वडा नं. ५ का अध्यक्ष झगरु थारु, ७ का लखनराम थारु, नेकपाका नेताहरु सुर्य ढकाल, नरेन्द्र न्यौपाने, पट्टु थारु लगायतको उपस्थिति रहेको थियो ।