सदरलाइनडटकम,
नेपालगञ्ज : नेपालगञ्ज उपमहानगरपालिका वडा नं. १४ द्वारा सञ्चालित तीन महिने सिलाईकटाई तालिम समापन भएको छ । दलित औद्योगिक विकास कार्यक्रम नेपालसँगको सहकार्यमा वडाले सञ्चालन गरेको महीने तालिममा सहभागीलाई प्रमाण पत्रसँगै १४ वटा सिलाई मेशिनसमेत प्रदान गरेको छ ।
विभिन्न टोलका दलित तथा पछाडी पारिएका महिलालाई केन्द्रित गरि वडाको लक्षित वर्ग कार्यक्रमअन्तर्गत दुई लाखको सहयोगमा तालिम सञ्चालन गरिएको थियो । दलित औद्योगिक विकास कार्यक्रमले ५ वटा सिलाई मेशिनमार्फत कैंची, कपडालगायत सम्पूर्ण व्यवस्थासहित सिलाईकटाई प्रदान गरेको थियो ।
सहभागीलाई मेशिन प्रदान गर्दै उपमहानगरपालिकाकी उपमेयर उमा थापा मगरले व्यावसायिक शिक्षाले रोजगार सिर्जनासँगै महिलाको सशक्तिकरण र विकासमा मदत पुर्याउने विश्वास व्यक्त गरिन् । वडाध्यक्ष ओमकारनाथ मिश्रले बेरोजगार महिलालाई सिर्जनशील र व्यावसायिक बनाउने प्रयत्न गरिएको बताए ।
दलित औद्योगिक विकास कार्यक्रम नेपालका अध्यक्ष चित्रबहादुर विकले शिप सिकाएर महिलालाई आत्मनिर्भर बनाउन हर सम्भव प्रयास गरिएको बताए । औद्योगिक विकास कार्यक्रम नेपालका टिका सुनारद्वारा सञ्चालन गरिएको कार्यक्रममा सहभागीको तर्फबाट रश्मी शाहले मन्तब्य राखेका थिए । कार्यक्रममा वडाका कर्मचारी, जनप्रतिनिधी, स्थानीयवासीलगायतको सहभागिता थियो ।