भेरीमा थप दुई जना भूकम्पका घाइतेलाई ल्याइयो

सदरलाइन संवाददाता २८ कार्तिक २०८०, मंगलवार १४:१२
 

नेपालगञ्ज : भूकम्पमा परी घाइते भएका थप दुई जना बिरामीलाई उपचारका लागि नेपालगञ्जस्थित भेरी अस्पतालमा ल्याइएको छ । जाजरकोटबाट थप उपचारका लागि दुई जना भूकम्पका घाइतेलाई मंगलवार बिहान भेरी अस्पतालमा ल्याइएको हो ।

बारेकोट गाउँपालिका ५, नायकबाडा जाजरकोटका ६३ वर्षीय गोपाल दमाई र सोही गाउँपालिका वडा नं. ७, सुवाकोटका ६ वर्षीय बालक दिवस बस्नेतलाई थप उपचारका लागि मंगलवार भेरी अस्पताल ल्याइएको जिल्ला आपत्कालीन कार्य सञ्चालन केन्द्र बाँकेका फोकल पर्सन नरेशबाबु श्रेष्ठले जानकारी दिए ।

यक सबै एक्सरे, रगत जाँचलगायत स्वास्थ्य जाँच तथा आवश्यक औषधि समेतको व्यवस्थापन गरिसकिएको र उनीहरुको शल्यक्रिया गर्ने तयारी गरिएको श्रेष्ठले बताए । फोकल पर्सन श्रेष्ठका अनुसार दमाईको दाहिने हात र स्पाइन भाँचिएको र दिवसको दाहिने हात भाँचिएको छ । विरामी दुबै जनालाई फरक फरक समयमा एम्बुलेन्समार्फत नेपालगञ्ज ल्याइएको उनले जानकारी दिए ।


“जाजरकोटका विभिन्न स्वास्थ्य संस्थामा सामान्य उपचार गराई निको भयो भनेर उहाँहरु घरमा बस्नुभएको रहेछ, पछि शरिरमा पीडा हुन थालेपछि थप उपचारका लागि यहाँ आउनुभयो, एक्सरे गर्दा उहाँहरुको हात र स्पाइन भाँचिएको पाइयो ।,” श्रेष्ठले भने, “जतिपनि भूकम्पका घाइतेहरु हुनुहुन्छ कृपया सबैले एकपटक राम्रोसँग कम्तीमा पनि एक्सरे गर्नुहोला, लामो समय भयो भने उपचार गरेर निको हुन गाह्रो हुन्छ ।”

भेरीमा मंगलवार ल्याइएका दुई बिरामीसमेत गरेर अब भूकम्पमा परी घाइते उपचाररत बिरामीको संख्या ८ पुगेको छ । सबै बरामीको अवस्था सामान्य भएको हुँदा सबैलाई पेइङ् वार्डमा राखेर उपचार गरिरहेको अस्पतालले जनाएको छ ।

यो समेत जाजरकोट र रुकुमपश्चिममा गएको भूकम्पमा परी घाइते भई भेरीमा उपचार गर्न ल्याइनुभएका बिरामीको संख्या ६० पुगेको छ । जसमध्ये यसअघि ४८ जना बिरामी उपचारपश्चात् निको भएर घर फर्किसकेका छन् भने भेरीमा उपचाररत ८ जना रहेका छन् । एक जनाको अस्पताल पुर्याउदै गर्दा मृत्यु भएको र तीन जनालाई थप उपचारका लागि जिल्ला बाहिर रिफर गरिएको अस्पतालले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

माटोका भाँडाको बिक्री घट्दा कसगर समुदाय चिन्तित

२८ कार्तिक २०८०, मंगलवार १४:१२
नेपालगञ्ज : बाँकेमा चाडपर्वका बेला माटोको भाँडा बढी बिक्री हुने आशामा बसे पनि भाँडा बिक्री निकै कम हुँदा कसगर समुदायको चिन्ता बढेको छ । अन्य समयमा माटोको भाँडाको बिक्री कम भए पनि दसैं, तिहारजस्तो चाडपर्वमा बढी बिक्री हुने र त्यसबाट जीविकोपार्जन गर्न केही सहज हुने आशामा रहेका अधिकाशं कसगर अहिले […]

सम्बन्धित