२०८३ असोज ३० , शुक्रबार
Sadarline
२०८३ असोज ३० , शुक्रबार

दश वर्षपछि नेपाल टि–२० विश्वकपमा छनोट



नेपालगञ्ज : नेपाल टि–२० विश्वकपमा छनोट भएको छ । आईसीसी टी–२० आई विश्वकप एसिया छनोट अन्तर्गत सेमिफाइनलमा नेपालले यूएईलाई ८ विकेटले हराउँदै विश्वकपका लागि स्थान सुरक्षित बनाएको हो । ८ विकेट गुमाएर यूएईले १ सय ३४ रन बनाएको थियो ।

आशिफ शेखले ६३ रन र कप्तान रोहित पौडेलले ३५ रन अविजित रहे । यसअघि गुलशन झा २२ रन बनाएर आउट भए । यस्तै, कुशल भुर्तेल ११ रन बनाएर आउट भए ।

यूएईविरुद्ध कुशल मल्लले व्यक्तिगत तीन, सन्दीप लामिछानेले दुई, कप्तान रोहित पौडल र सोमपाल कामीले एक विकेट लिए । पहिलो सफलता सोमपाल कामीको बल करण केसीले क्याच गरे । नेपाल समूह ‘ए’को उपविजेता बन्दै सेमिफाइनलमा प्रवेश गरेको हो । नेपालले समूह चरणमा सिंगापुरलाई ८ र मलेसियालाई ६ विकेटले पराजित गरेको थियो ।

यद्यपि, अन्तिम खेलमा भने ओमानसँग ५ रनले पराजित भएको थियो । यूएई भने समूह ‘बी’को विजेता बन्दै सेमिफाइनलमा पुगेको हो । यूएईले बहराइन र कुवेतलाई समान ५ विकेट र हङकङलाई २२ रनले पराजित गरेको थियो ।

नेपालले फाइनल खेल अब पुन ओमानसँग खेल्नेछ । अर्को वर्ष अमेरिका र वेस्ट इन्डिजमा आयोजना हुने ट्वान्टी २० विश्वकपको अन्तिम छनोटमा नेपालसहित आठ टोलीले प्रतिस्पर्धा गरेका थिए । जसमा प्रतियोगिताबाट शीर्ष दुई टोली विश्वकपको लागि छनोट हुने तालिका छ ।

प्रकाशित मिति : २०८० कात्तिक १७ गते शुक्रबार
ताजा समाचार