२०८३ कात्तिक १ , शनिबार
Sadarline
२०८३ कात्तिक १ , शनिबार

पुसभित्र लुम्बिनीका सबै जिल्ला अधिवेशन गरिने एमाले लुम्बिनी प्रदेशको निर्णय



 

बुटवल :  नेकपा एमाले लुम्बिनी प्रदेश कमिटीले पुसभित्रै प्रदेशका सबै जिल्लाका अधिवेशन सम्पन्न गर्ने निर्णय गरेको छ । अधिवेशनपछि बसेको प्रदेश कमिटीको पहिलो बैठकले यस्तो निर्णय गरेको हो ।

प्रदेशमा रहेका मध्ये रूकुम पूर्वमा मंसिरमा र अन्य जिल्लाको पुसभित्र अधिवेशन गर्ने निर्णय गरेको केन्द्रीय सचिव तथा प्रदेश इन्चार्ज पद्माकुमारी अर्यालले जानकारी दिईन ।

गत भदौ १६ गते भएको प्रथम प्रदेश अधिवेशनले राधाकृष्ण कँडेलको नेतृत्वमा प्रदेश कमिटी चयन भएपछि बिहीबार पहिलो पूर्ण बैठक बसेको हो । बैठकलाई सम्बोधन गर्दै सचिव अर्यालले अहिलेको कमिटीले आगामी संघ, प्रदेश र स्थानीय तहको चुनाव गराउने र पार्टीको ११ औं महाधिवेशन गराउने भएकाले विशेष जिम्मेवारीका साथ काम गर्नुपर्ने बताईन ।

उनले अधिवेशनमा प्रतिस्पर्धालाई स्वाभाविक ठानेर प्रतिस्पर्धाबाट उत्पन्न मनोविज्ञानको अन्त्य गरी पार्टीलाई एकढिक्का बनाउनुपर्ने गरी योजना बनाउन निर्देशन समेत दिईन ।

‘निर्वाचनका बेला प्रतिस्पर्धा स्वाभाविक हो भन्ने वातावरण गराउने हो, विधानको पूर्ण प्रयोग गर्नुस,’ अर्यालले भनिन, ‘व्यक्तिलाई केन्द्र मानेर विधान नमिच्नुस् । अवैधानिक कमिटी सूचना पाएको अर्को दिन भंग गरिनेछ । हरेकसँग विधान र नियमावलीका दस्तावेज हुनुपर्यो, कमिटीको महत्व र जिम्मेवारी नहुँदा चाहियो भन्ने काम गर्दा लैजा भन्ने कुरा अराजकता हो ।’

सचिव अर्यालले जनतामा एमालेले भनेजस्तो, सोचेजस्तो काम गरेन भन्ने गुनासो बढेको विषयलाई ध्यान दिँदै यसलाई व्यवहारबाटै जवाफ दिन सक्नुपर्ने बताईन ।

बैठकले अधिवेशनको समीक्षा गर्दै सचिवालय गठन, विभागीय जिम्मेवारी बाँडफाँड, जनसंगठनको भेला, पार्टी इतिहास लेखन र स्कुल विभाग संचालन तथा कार्यालय व्यवस्थापनका विषयमा टुंगो लगाएको प्रचार विभाग प्रमुख डिआर घिमिरेले जानकारी दिए ।

प्रकाशित मिति : २०८० असोज १२ गते शुक्रबार
ताजा समाचार