२०८३ कात्तिक १ , शनिबार
Sadarline
२०८३ कात्तिक १ , शनिबार

ठेकेदार बेपत्ता भएपछि बाँकेमा निर्माण कार्य अलपत्र



नेपालगञ्ज : निर्माणको जिम्मा लिएका ठेकेदारले निर्धारित समयमा काम पूरा नगर्दा बाँके जिल्लाका विभिन्न स्थानमा निर्माण भइरहेका पाँचवटा पुल अधुरै अवस्थामा रहेका छन् ।

ती पुलको निर्माण पूरा नहुँदा एकातिर विकास निर्माणको काम रोकिएको छ भने अर्कातिर सो क्षेत्रका स्थानीयवासीलाई आवागमनमा समेत समस्या भइरहेको छ । लुम्बिनी प्रदेश सरकारको लगानीमा बाँकेमा निर्माण भइरहेका सातवटा पुलमध्ये पाँचवटाको काम अधुरै रहेको छ । निर्माण सम्पन्न हुन नसकेका पाँच पुलमध्ये गाल्भा÷सिद्धार्थ दर्शन जेभीले ठेक्का पाएका तीन र अञ्जना यादव जेभीले ठेक्का पाएका दुईवटा पुल अझै अलपत्र अवस्थामा छन् ।

ती पुलमध्ये गाल्भाले निर्माण गरिरहेका तीन पुलको काम सम्पन्न गर्नुपर्ने समय एक वर्ष थपिएकामा सो समय पनि सकिन लागेको र अञ्जना यादव जेभीले निर्माण गरिरहेको दुई पुलको समेत सम्झौता म्याद सकिए पनि पुल अधुरै रहेको सडक पूर्वाधार विकास कार्यालयका प्रमुख सिनियर डिभिजन इन्जिनियर ललितबहादुर न्यौपानेले बताए । उनका अनुसार खजुरा गाउँपालिका–२, ‘सी’ गाउँमा रहेको किरणनालामा निर्माणाधीन पुल गाल्भाले बनाउन लागेको २० महिना भइसक्यो । २५ मिटरको सो पुल २०७९ असार २५ गतेसम्म निर्माण सम्पन्न गर्ने गरी कम्पनीले २०७७ फागुन १९ गते सम्झौता गरेको थियो तर हालसम्म ३५ प्रतिशत मात्र काम भएको छ ।

गाल्भाले नै बाँकेको वैजनाथ गाउँपालिका–५, वनखेतमा रहेको किरणनालामा २५ मिटरको पुल र जानकी गाउँपालिका–४, छत्रपुरमा रहेको किरणनालामै २५ मिटरको पुल निर्माण सोही समयमा सम्पन्न गर्ने गरी ठेक्का सम्झौता गरेको थियो तर सम्झौताको निर्धारित मितिसम्ममा कम्पनीले दुवै पुलको काम करिब ४० प्रतिशत मात्र पूरा गरेको सो कार्यालयले जनाएको छ । गाल्भाले खजुराको ‘सी’ गाउँमा पाँच करोड ८५ लाख, वैजनाथको वनखेतमा चार करोड ७२ लाख र जानकीको छत्रपुरमा पुल निर्माणका लागि पाँच करोड ३२ लाख रुपियाँमा ठेक्का सम्झौता गरेको थियो ।

देशैभर समयमा निर्माण सम्पन्न नगरेका निर्माण कम्पनीलाई सरकारले एक वर्षको म्याद थप गरेकाले गाल्भाले २०८० असार २५ गतेसम्ममा उक्त पुल निर्माण सम्पन्न गर्ने समय पाएको छ तर पुल निर्माणमा कम्पनीले प्रभावकारी काम गर्न नसकेको देखिएको छ । कम्पनीले खजुरा गाउँपालिकाको पुलको काम ४५ प्रतिशत सम्पन्न गरेको छ भने वैजनाथमा ५० प्रतिशत र जानकीमा ३० प्रतिशत मात्र काम सम्पन्न गरेको छ । थपिएको म्याद सकिन चार महिना मात्र बाँकी रहेकाले कम्पनीले काम सम्पन्न गर्न नसक्ने स्थिति देखिएको छ ।

बाँकेमा दुईवटा पुलको ठेक्का पाएको अञ्जना यादव जेभी कार्यालयको सम्पर्कमा नरहेको सो कार्यालयले जनाएको छ । सो कम्पनीले निर्माण गरिरहेको दुईवटा पुलको सम्झौता मिति सकिए पनि कम्पनी सम्पर्कमा नआएको सडक पूर्वाधार विकास कार्यालयका प्रमुख न्यौपानेले बताए । उक्त कम्पनीले २०७८ भदौमा खजुरा गाउँपालिका–१ मा ३० मिटरको पुल पाँच करोड रुपियाँमा निर्माण गर्ने सम्झौता गरेको थियो । एक वर्षभित्र निर्माण सम्पन्न गर्नुपर्ने सम्झौतामा उल्लेख थियो तर निर्धारित समय पूरा भए पनि अझै पुल निर्माण सकिएको छैन ।

प्रकाशित मिति : २०८० वैशाख ११ गते सोमबार
ताजा समाचार