२०८३ कात्तिक १ , शनिबार
Sadarline
२०८३ कात्तिक १ , शनिबार

बाँके, रौतहट र सर्लाहीका ८ नाबालिगको उद्धार



नेपालगञ्ज : भारतको विभिन्न सहरमा रोजगारीको सिलसिलामा रहेका रौतहट, सर्लाही र बाँकेका ८ जना नाबालिगलाई एक गैरसरकारी संस्थाले उद्धार गरेको छ ।

सामुदायिक विकास तथा सचेतना नेपालको पहल तथा जागृति बाल तथा युवा सरोकार नेपालको सहयोगमा बाध्यकारी तथा मानव बेचबिखनको उच्च जोखिममा रहेका ८ नेपाली बालकको उद्धार गरेको हो ।

उद्धार गरी ल्याएको बालकहरूलाई राष्ट्रिय बाल अधिकार परिषद्, मधेस प्रदेश प्रहरी कार्यालय, जिल्ला प्रहरी कार्यालय रौतहट लगायत सरोकारवाला निकायको समन्वयमा बिहीबार ६ जनालाई परिवारमा पुनर्मिलन र २ जनालाई मानव सेवा आश्रम मार्फत पारिवारिक पुनर्मिलन गर्ने गरी जिम्मा लगाइएको थियो ।

स्वदेश फिर्ता गरी पुनर्मिलन गराएका ८ जना बालक रौतहट, सर्लाही र बाँके जिल्लाका छन् । उद्धार गरी ल्याइएका बालकहरू ११ देखि १६ वर्ष उमेर समूहका रहेका छन् । जिल्ला प्रहरी कार्यालय रौतहटको रोहवरमा भएको पारिवारिक पुनर्मिलन कार्यक्रममा सामुदायिक विकास तथा सचेतना नेपालका कार्यकारी निर्देशक दिलीप कोइरालाले स्थानीय निकायले आफ्नो पालिका भित्रको बालबालिकाको लेखाजोखा राख्ने र बालबालिकाहरु विभिन्न प्रलोभनमा भारत र नेपालको अन्य जिल्लामा जानबाट रोक्ने पहल गर्नुपर्ने बताएका थिए ।

जागृति बाल तथा युवा सरोकार नेपालका अध्यक्ष तिलोत्तमा पौडेल, सामुदायिक विकास तथा सचेतना नेपालका अध्यक्ष ध्रुवप्रसाद अधिकारी, जिल्ला प्रहरी कार्यालय रौतहटका प्रमुख एसपी वीर बहादुर बुढा, प्रदेश बालबालिका खोज समन्वय केन्द्र जनकपुरका प्रहरी सहायक निरीक्षक वीरेन्द्र कुमार मण्डल, जागृति बाल तथा युवा सरोकार नेपालका प्रतिनिधि अरविन खड्का, बालबालिका खोज तलास मधेस प्रदेश प्रतिनिधि वीरेन्द्र मण्डल, सामुदायिक विकास तथा सचेतना नेपालका सचिव अनन्त बानियाँ, लगायतको उपस्थिति रहेको थियो ।

प्रकाशित मिति : २०७९ चैत १७ गते शुक्रबार
ताजा समाचार