२०८३ असोज ३० , शुक्रबार
Sadarline
२०८३ असोज ३० , शुक्रबार

नेपालगञ्ज–गुलरिया चार लेनको सडक निर्माण सुरु



नेपालगञ्ज : नेपालगञ्ज गुलरिया चार लेनको सडक निर्माण सुरु भएको छ । हुलाकी राजमार्ग निर्देशनालय योजना कार्यालय नेपालगञ्जका इन्जिनियर कृष्ण पाण्डेले नेपालगञ्ज–गुलरिया सडकखण्ड विस्तार अन्तर्गत हाल माटो पटानको कार्य भइरहेको जानकारी दिए ।

सडक निर्माणका लागि शर्मा एण्ड कम्पनीले जिम्मा पाएको छ । इन्जिनियर पाण्डेले भने, हाल प्रारम्भिक चरणको काम भइरहेको छ । हाल बाँकेको जानकी गाउँपालिकाको इन्द्रपुर क्षेत्रमा सडक विस्तार अन्तर्गत माटो पटान र सडक क्षेत्र छुट्याउने कार्य तीव्ररुपमा अघि बढेको छ ।

गत भदौ अन्त्यमा टेण्डर तथा शिलान्यास भएको यो सडक ठेक्का सम्बन्धी कानुनी प्रक्रिया पूरागरी निर्माण कार्य सुरु भएको हो । यो सडक निर्माण भएपछि बाँकेको खजुरा क्षेत्रसहित कैलाली र बर्दियाका बासिन्दालाई नेपालगञ्ज पुग्न सहज हुने भएकाले यसलाई गौरवको योजनाका रूपमा लिइएको छ ।

नेपालगञ्ज–गुलरिया सडक ३२.९ किलोमिटर लम्बाइको रहेको छ । जसमध्ये २२.७ किलोमिटर चार लेन र १०.२ किलोमिटर दुई लेनको निर्माण गरिनेछ । यस सडकमध्ये १.८ किलोमिटर चार लेन सडक निर्माण भइरहेकाले ३१.१ किलोमिटर सडक स्तरोन्नति हुनेछ । बस्ती भएको क्षेत्रमा चार लेन र बाँकी क्षेत्रमा दुई लेन सडकको रूपमा स्तरोन्नति हुने हुलाकी सडक कार्यालय नेपालगञ्जले जनाएको छ ।

सोही सडकखण्डको गुलरिया र खजुरामा चार लेन सडक निर्माणमा ढिलाइ भएको छ । खजुरामा वर्षौँदेखि अलपत्र सडकका कारण आवागमनमा कठिनाइ भइरहेको छ ।

प्रकाशित मिति : २०७९ माघ १२ गते बिहीबार
ताजा समाचार