२०८३ कात्तिक ४ , मंगलबार
Sadarline
२०८३ कात्तिक ४ , मंगलबार

निर्वाचनमा स्वास्थ्यकर्मी खटाएपछि खजुराका तीन स्वास्थ्य संस्थाबाट सञ्चालित प्रसूति सेवा बन्द



नेपालगञ्ज : सरकारले स्थानीय तह निर्वाचनमा स्वास्थ्यकर्मी र कर्मचारी खटाएपछि खजुरा गाउँपालिकामा रहेका तीनवटा स्वास्थ्य संस्थाबाट सञ्चालित प्रसूति सेवा बन्द भएका छन्। खजुरा गाउँपालिका वडा नम्बर ३ मा रहेको खजुरा प्राथमिक स्वास्थ्य केन्द्र, वडा नम्बर ५ मा रहेको उढरापुर स्वास्थ्य चौकी र वडा नम्बर ८ स्थित रनियापुर स्वास्थ्य चौकीबाट सञ्चालन हुने प्रसूति सेवा बन्द भएका हुन्।

गाउँपालिकाले सोमबार सार्वजनिक सूचना नै जारी गरेर मंगलबारदेखि वैशाख ३० गतेसम्म सेवा बन्द हुने जानकारी गराएको छ। गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत बमबहादुर केसी र स्वास्थ्य शाखा प्रमुख सुदीप पौडेलद्वारा हस्ताक्षरित सार्वजनिक सूचनामा तीनवटा स्वास्थ्य सेवा चुनाव अवधिभर पूर्णरूपमा बन्द हुने उल्लेख छ।

खजुरा प्राथमिक स्वास्थ्य केन्द्रमा कार्यरत लक्ष्मी केसीबाहेक नौजना खटिएको स्वास्थ्य शाखा प्रमुख पौडेलले बताए। निर्वाचन तालिममा समेत सहभागी भएकी केसी खुट्टाको अप्रेसनका कारण घरमा आराम गरिरहेकी छन्। यस्तै रनियापुर स्वास्थ्य चौकीका आठजना कर्मचारी चुनावमा खटिएका छन्। यस्तै उढरापुर स्वास्थ्य चौकीका सातैजना कर्मचारी खटिएको स्वास्थ्य शाखा प्रमुख पौडेलको भनाइ छ। अन्य स्वास्थ्य संस्थामा निरन्तर सेवा प्रवाह भइरहेको उनले बताए। खजुरामा दुईवटा आधारभूत स्वास्थ्य केन्द्र र तीनवटा प्राथमिक स्वास्थ्य केन्द्रसहित आठवठा स्वास्थ्य संस्था छन्।

‘गाउँपालिकामा कर्मचारीको नामावली माग्दा स्वास्थ्यका कर्मचारीको पनि दिइएको थियो’ प्रमुख प्रशासकीय अधिकृत केसीले भने, ‘छनोट गर्दा प्रसूति गृहमा काम गर्नेहरूलाई पनि खटाइयो।’ उनका अनुसार निर्वाचन आयोगले खटाएको ठाउँमा कर्मचारी गइसकेका छन्। अत्यावश्यक सेवा प्रवाहका विषयमा भने गाउँपालिकाले वैकल्पिक उपाय अपनाउने उनको भनाइ छ। सेवा अवरुद्ध भएको समयमा इमरजेन्सी सेवा लिन आउने बिरामीहरूको उपचारका लागि राजपुर स्वास्थ्य चौकीमा सेवा दिने उनले बताए।

‘कर्मचारी चुनावमा खटिएका कारण सेवा नै बन्द गर्नुपरेको छ, तर हामी वैकल्पिक व्यवस्था गर्छौं। इमरजेन्सी बिरामीहरूलाई सेवा दिन्छौं’, उनले भने। उनी स्वयं पनि खजुराको सहायक निर्वाचन अधिकृतका रूपमा निर्वाचन कार्यालयमा खटिएका छन्। गाउँपालिका र निर्वाचनका काम संयुक्तरूपमा गरिरहेको केसीले बताए। खजुरा गाउँपालिकामा स्वास्थ्य सेवाअन्तर्गत ४१ जना स्थायी कर्मचारीसहित कार्यालय सहयोगी र स्विपरसमेत गरेर ६८ जना जनशक्ति छन्।

प्रकाशित मिति : २०७९ वैशाख २८ गते बुधबार
ताजा समाचार