काठमाण्डौ : पहिलोपटक दक्षिण अफ्रिकामा भेटिएको कोरोनाको नयाँ भेरियन्ट ओमिक्रोनको संक्रमण नेपालमा पनि भित्रिएको छ । यहाँ रहेका एक नेपाली र विदेशी नागरिकमा पहिलोपटक कोरोनाको नयाँ भेरियन्ट देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका सहप्रवक्ता समीर कुमार अधिकारीका अनुसार मंसिर ३ गते नेपाल प्रवेश गरेका ६६ वर्षीय विदेशी नागरिक र उनको सम्पर्कमा आएका ७१ वर्षीय व्यक्तिमा संक्रमण पुष्टि भएको हो ।
उनीहरुको मंसिर ७ गते परीक्षण गरिएको थियो। विदेशी नागरिक मंसिर ३ गते नयाँ भेरियन्ट पुष्टि भएको देश हुँदै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आइपुगेका थिए । नेपाल आउँदा उनको पिसिआर रिपोर्ट नेगेटिभ तथा खोपको मात्रा पनि पूरा गरेको पाइएको मन्त्रालयले जनाएको छ ।
’उहाँसँग नजिकको सम्पर्कमा आएका एक ७१ वर्षीय व्यक्ति र स्वयं आफैंलाई मंसिर ७ गते कोभिड–१९ सँग मिल्दाजुल्दा लक्षणहरु देखिएपछि परीक्षण गर्दा कोभिड १९ को नतिजा पोजेटिभ आएको थियो ।’ मन्त्रालयले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।
उनीहरुको नुमना राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा जिन सिक्वेन्सिङ गर्दा आज नयाँ भेरियन्ट ओमिक्रोन पहिलो पटक पुष्टि भएको हो ।
हाल दुवै जना नेपाल सरकारले तोकेको मापदण्डअनुसार आइसोलेसनमा रही स्वास्थ्य लाभ गरिरहेका छन् । ’हाल उहाँहरुमा कुनै लक्षणहरु देखिएको छैन र स्वास्थ्यकर्मीको निगरानीमा हुनुहुन्छ’, मन्त्रालयले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ’उक्त दुई व्यक्तिहरुसँग सम्पर्कमा आएकाहरुको बृहत रुपमा कन्ट्याक्ट ट्रेसिङ गरिएको, कन्ट्याक्ट ट्रेसिङबाट प्राप्त ६६ जनाको परीक्षण गर्दा उनीहरुको पिसिआर परीक्षण रिपोर्ट नेगेटिभ आएको र सबै स्वस्थ रहेको पाइएको छ ।’
मन्त्रालयले ओमिक्रोन भेरियन्टबाट जोगिन पनि जनस्वास्थ्यका मापदण्डको अनिवार्य पालना गर्न सबैलाई आग्रह गरेको छ ।












प्रतिक्रिया दिनुहोस्