सदरलाइनडटकम,
नेपालगञ्ज : बाँकेमा थप दुई जनामा कोरोना संक्रमण पुष्टि भएको छ । भेरी अस्पताल नेपालगञ्जमा गरिएको परीक्षणमा नेपालगञ्ज १२ की १९ वर्षीया युवती र वडा नं. ११ का ३९ वर्षीय पुरुषमा संक्रमण पुष्टि भएको हो ।
३९ वर्षीय पुरुष भने त्रिभुवन चोकस्थित मिठाई पसले रहेको बताइएको छ । साउन ८ गते त्रिभुवन चोकमा ज्याला मजदुरी गर्नेहरुलाई लक्षित गरी एक सय ३० जनाको स्वाब संकलन गरिएको थियो । सोही बेला मिठाई पसलेले पनि स्वाब दिएका थिए ।
उनीसँगै स्वाब संकलन गरिएका आन्तरिक राजस्व कार्यालय बाँकेमा कार्यरत जुम्ला गोठचौर २ घर भएका एक जना र बर्दियाको राजापुर ८ का ४ महिला र एक पुरुषमा कोरोना पुष्टि भएको छ । यस्तै बर्दिया ठाकुरबाबा ६ का एक जना पुरुषमा कोरोना संक्रमण देखिएको भेरी अस्पतालले जनाएको छ ।
