सदरलाइनडटकम,
दाङ : दाङको तुलसीपुर उपमहानगरपालिकाले आठ सय ४४ सुत्केरीलाई प्रोत्साहन भत्ता वितरण गरेको छ । उपमहानगरपालिकाले चालु आर्थिक वर्षका माघसम्म उक्त भत्ता वितरण गरेको हो ।
मातृशिशु मृत्युदर कम गर्ने कार्यक्रमअन्तर्गत सुत्केरी भत्ता वितरण गरिएको स्वास्थ्य शाखा प्रमुख डा. गोकर्ण दाहालले बताए । एक जना सुत्केरीलाई अस्पतालबाट ९०० र उपमहानगरपालिकाले चार हजार १०० भत्ता दिइँदै आइएको छ । जसअनुसार माघसम्म १९ लाख ८९ हजार रुपैयाँ वितरण गरिएको छ ।
सुविधा प्राप्त गर्न चार पटक अस्पतालमा गई गर्भ जाँच गराएको तथा अस्पतालमै सुत्केरी भएको हुनुपर्ने प्रावधान छ । यस्तै, सुत्केरी भएको ३५ दिनभित्र जन्मदर्ता गरेको हुनुपर्ने, सुत्केरी भएर २४ घण्टा, तीन दिन र सात दिनभित्र स्वास्थ्य संस्थामा गई जाँच गराएको हुनुपर्ने प्रावधान राखिएको छ ।
