नेपालगञ्ज म्याराथन र वनस्टेप फाउन्डेसनको सहकार्य हुने सम्झौता

सदरलाइन संवाददाता ३ चैत्र २०८१, सोमबार २०:२४
 

 

नेपालगञ्ज :  अमेरिकी समाजिक संस्था वन स्टेप फाउन्डेसन र नेपालगञ्ज म्याराथन बीच किशोरी खेलाडीलाई दौडमार्फत मुल धारमा ल्याउने सम्बन्धमा सम्झौता भएको छ ।

समाजमा पिछडिएका र आर्थिक अवस्था कमजोर रहेका मुस्लिम, मधेसी, दलित, जनजाति समुदायका किशोरीलाई दौडमार्फत एउटै मञ्चमा ल्याई उनीहरुलाई सशक्तीकरण गराउन दुई संस्थाबीच सम्झौता भएको हो ।

सम्झौतापत्रमा वन स्टेप फाउन्डेसनका तर्फदेखि बालकृष्ण जोशी र नेपालगञ्ज म्याराथनका तर्फबाट टीएस ठकुरीले हस्ताक्षर गरेका छन् । सम्झौतासँगै वन स्टेप फाउन्डेसनले नेपालगञ्ज म्याराथनमा तीन सय जना किशोरीको दर्ता गरेर सघाउनेछ ।

‘यसले समाजमा लुकेका प्रतिभालाई उजागर गर्न सघाउनेछ ।’ वन स्टेप फाउन्डेसनका संस्थापक सदस्य जोशीले भनेका छन्–‘पिछडिएको समुदायका किशोरीलाई मुलधारमा ल्याउनु हामी सबैको जिम्मेवारी र दायित्व हो । नेपालगञ्ज म्याराथनको यो पहलकदमीको हार्दिक सराहना पनि गर्दछु ।’


नेपाली किशोरीको क्षमता र प्रतिभालाई उजागर गर्न अन्तर्राष्ट्रिय सहभागितामा समेत सघाउन आफुहरु तयार रहेको वन स्टेप फाउन्डेसनका संस्थापक सदस्य जोशीले बताए । जोशीले संसारकै शीर्ष ६ मध्येका न्युयोर्क म्याराथन, सिकागो म्याराथन लगायत १५ बढी फुल म्याराथन पुरा गरिसकेका छन् । साथै गत बर्ष विश्वविख्यात एभरेष्ट म्याराथन पनि पुरा गरेका थिए । एक सय बढी हाफ म्याराथन तथा दुई वटा एक सय किलोमिटर दुरीका अल्ट्रा म्याराथन पुरा गरिसकेका छन् । अमेरिकामा स्थापित वन स्टेप फाउन्डेसनले स्वास्थ्य, शिक्षा, खेलकुदका साथै सामाजिक काम गर्दछ ।

सम्झौता अनुसार वन स्टेप फाउन्डेसनले नेपालगञ्जका सेरोफेरोमा अवस्थित विद्यालयमा अध्ययनरत तीन सय जना किशोरीको दर्ता शुल्क नेपालगञ्ज म्याराथनलाई प्रदान गर्नेछ । यो सम्झौता सन् २०३० संस्करणसम्मका लागि गरिएको छ ।

आपसी सहमतिमा हरेक बर्ष सहभागी संख्या क्रमिक बढाउँदै जाने पनि सम्झौतामा उल्लेख छ । यो सम्झौताले नेपालगञ्ज म्याराथनको दायरा अझै फराकिलो हुँदै जाने संस्थापक टीएस ठकुरीले बताए । ‘संसारभर रहेका नेपालीलाई यसमा जोड्न यो अवधारणा अगाडि बढाइएको हो’– ठकुरीले भने­‘विश्वका जुनसुकै देशमा कार्यरत हरेक सामाजिक संघसंस्था वा व्यक्तिले यसमा सहजै सहकार्य गर्न सक्नेछन् । धारा नेपालगञ्ज म्याराथनको ११औं संस्करण आगामी मंसिर ६ गते शनिवार हुँदैछ ।

नवौं धारा नेपालगञ्ज म्याराथनका विजेता गोपीचन्द्र पार्कीले विश्वको शीर्ष ६ भित्र पर्ने लण्डन म्याराथनमा भाग लिइसकेका छन् । यसैगरी दशौंका विजेतालाई लण्डन लगायत अन्य विश्व प्रतिष्ठित म्याराथनमा सहभागी गराउने तयारी भइरहेको छ ।

नेपालगञ्ज म्याराथन नेपालबाट एसोसियसन अफ इन्टरनेसनल म्याराथन एण्ड डिस्टेन्स रेस(एम्स)को पहिलो पुर्णकालीन सदस्य हो । एम्सले नेपालगञ्ज म्याराथनका संस्थापक टीएस ठकुरीलाई नेपालका लागि आधिकारिक दुत नियुक्त गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

फोटो सर्कलद्वारा नेपालगञ्जमा फोटो प्रदर्शनी

३ चैत्र २०८१, सोमबार २०:२४
नेपालगञ्ज : इतिहासमा महिलाहरुले दिएको योगदानलाई खोजेर डिजिटल रुपमा अभिलेख संकलनको काम गरिरहेको फोटो सर्कलले फोटो प्रदर्शनी सुरु गरेको छ । नेपालगञ्जको रामलिला मैदानमा सोमबारबाट प्रदर्शनी सुरु गरेको हो । यहाँ महिलाहरुको योगदान समेटिएका तस्वीरहरुको फोटो प्रदशनी भईरहेको छ । प्रदर्शनीबारे कुराकानी गर्दै फोटो प्रदर्शनी कार्यक्रमका संयोजक सरिता सिङले यहाँ […]

ताजा अपडेट