मध्यपश्चिम विश्वविद्यालयको दोस्रो दीक्षान्त समारोह सम्पन्न

रुद्रप्रसाद सुवेदी ६ बैशाख २०७९, मंगलवार २३:४८
 

 

नेपालगञ्ज :  नोबेल शान्ति पुरस्कार विजेता कैलाश सत्यार्थीले मध्यपश्चिम विश्वविद्यालयको दोस्रो दीक्षान्त समारोहलाई मङ्गलबार सम्बोधन गर्दै आफूले प्राप्त गरेको शिक्षालाई समाजको जिम्मेवारीका रूपमा लिन दीक्षित विद्यार्थीलाई आग्रह गरे ।

दिक्षान्त समारोहका प्रमुख अतिथि रहेका सत्यार्थीले शिक्षा व्यक्तिगत स्वतन्त्रताको प्रमुख अंग भएको पनि बताए । उनी सन् २०१४ का नोबेल शान्ति पुरस्कार विजेता हुन । ‘तपाईंको हातमा आज परेको प्रमाणपत्रका हरेक अक्षरमा तपाईंको मेहनत मात्रै होईन तपाईका अभिभावकको पसिना र समाजको आशा पनि मिसिएको छ’– उनले भने–‘तपाईंको हातमा डिग्रीको प्रमाणपत्र मिल्नुको अर्को अर्थ समाजको लागि निभाउनुपर्ने जिम्मेवारी थपियो भन्ने बुझ्नुहोस् ।’

उनले सो अवसरमा ४० वर्षदेखि आफ्नो सम्बन्ध नेपालसँग जोडिएको बताउदै नेपालबाट बेचबिखनमा परेका, होटेल मजदुर, कारखाना मजदुर र बेश्यालयबाट कतिपय बालबालिकाको उद्दार गरिएको बताए ।

सो अवसरमा शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री एवम् विश्वविद्यालयका सहकुलपति देवेन्द्र पौडेलले जिम्मेवार नागरिक उत्पादन गर्ने महत्वपूर्ण शैक्षिक थलोका रूपमा मध्यपश्चिम विश्वविद्यालयलाई व्यवस्थित गर्न आग्रह गरे । उनले शिक्षा क्षेत्रमा सरकारको लक्ष्यसँगै अनिवार्य, निःशुल्क र गुणस्तरीय शिक्षा उपलब्ध गराउनुपर्ने संविधानको मर्मलाई पूरा गर्न मध्यपश्चिम विश्वविद्यालयले भूमिका खेल्ने अपेक्षा गरिएको बताए ।

नेपाल सरकारले समयअनुसारको गुणस्तरीय र प्राविधिक शिक्षामा जोड दिएको सहकुलपति पौडेलले बताए । कार्यक्रम सहकुलपति तथा शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री पौडेलको अध्यक्षतामा सम्पन्न भएको थियो ।


विभिन्न संकायका स्नातकोत्तर तहका ९ जना विद्यार्थीलाई कुलपति पदक प्रदान गरिएको दिक्षान्त समारोहमा मानविकी र सामाजिक शास्त्र संकायका ३, व्यवस्थापन संकायका ३ र शिक्षा शास्त्र संकायका ३ जना रहेका दिक्षान्त समारोह प्रचार प्रसार उप–समिति सदस्य युवराज शर्माले जानकारी दिए ।

उनले दिएको जानकारी अनुसार स्नातक तहका २० जना विद्यार्थीलाई उपकुलपति पदक प्रदान गरिएको थियो । मानविकी तथा सामाजिक शास्त्र संकाय, व्यवस्थापन संकाय, शिक्षा शास्त्र संकाय, विज्ञान तथा प्रविधि संकाय र इञ्जिनियरिङ संकायमा स्नातक उत्तीर्ण ४–४ जनालाई उपकुलपति पदक प्रदान गरिएको हो ।

समारोहका अवसरमा व्यवस्थापन संकायमा स्नातकोत्तर तह उत्तीर्ण २ जना र स्नातक तह उत्तीर्ण ३ जनालाई सुर्खेत उद्योग वाणिज्य संघ स्वर्ण पदक प्रदान गरिएको थियो ।

विश्वविद्यालयमा अध्ययन गरेका ५ सय १९ जनालाई समारोहको अवसरमा दिक्षित गरिएको छ । स्नातक तहमा मानविकी तथा समाजशास्त्र संकायका ४४, व्यवस्थापन संकायका ५३, शिक्षा शास्त्र संकायका १९, विज्ञान तथा प्रविधि संकायका १५, इञ्जिनियरिङ संकायका १ सय ४५ जना विद्यार्थीलाई दिक्षित गरिएको हो ।

स्नातकोत्तरतर्फ मानविकी र समाजशास्त्र संकायका १ सय ८, व्यवस्थापन संकायका ६८ र शिक्षाशास्त्र संकायका ६६ जना दीक्षित भएका थिए । मध्यपश्चिम विश्वविद्यालयबाट पहिलो विद्यावारिधी उपाधि लिएका व्यवस्थापन संकायका पूर्णमान श्रेष्ठलाई पनि सो अवसरमा दीक्षित गरिएको थियो ।

वीरेन्द्रनगर–८ कुइनेपानीमा नवनिर्मित विश्वविद्यालयको केन्द्रीय कार्यालय परिसरमा भएको समारोह अघि विश्वविद्यालयको १२ औं सिनेट पनि सञ्चालन गरिएको थियो । यो मध्यपश्चिमाञ्चल विश्वविद्यालयको यो दोस्रो दीक्षान्त समारोह हो । यसअघि २०७४ असार १९ गते पहिलो दीक्षान्त समारोह भएको थियो ।

त्यसअघि विश्वविद्यालयको २०७३ भदौ २० गते विशेष दीक्षान्त समारोह भएको थियो । उक्त विशेष समारोहमा साहित्यकार झमककुमारी घिमिरेलाई विद्यावारिधि उपाधिसहित दीक्षित गरिएको थियो ।  mupatrakarita.com बाट

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

नेपालगञ्जमा महिला कलेजको उद्घाटन

६ बैशाख २०७९, मंगलवार २३:४८
नेपालगञ्ज : मधेसी तथा मुस्लिम छात्राहरुलाई उच्च शिक्षाका लागि सहजता प्रदान गर्न नेपालगञ्जमा महिला कलेज निर्माण गरिएको छ । नेपालगञ्ज उप–महानगरपालिकाले निर्माण गरेको मङ्गलप्रसाद महिला कलेजको बुधबार उदघाटन गरिएको छ । पुर्वाञ्चल बिश्व विद्यालयका उपकुलपति प्राध्यापक डाक्टर यादवराज कोइराला, नेपालगञ्ज उप–महानगरपालिकाका प्रमुख डा. धवलशम्शेर राणा, उपप्रमुख उमा थापा मगर, प्रमुख […]

सम्बन्धित