Sadarline
२०८३ असोज २९ , बिहीबार

राप्तीसोनारीमा आपतकालिन कार्य सञ्चालन केन्द्र स्थापना



सदरलाइनडटकम,
राप्तीसोनारी (बाँके) : बाँकेको राप्ती सोनारी गाउपालिकामा आपतकालिन कार्य सञ्चालन केन्द्र स्थापना गरिएको छ । जिल्ला विपद व्यवस्थापन समिति बाँकेका संयोजक तथा बाँकेका प्रमुख जिल्ला अधिकारी मदन भुजेलले गाउपालिकाको कार्यालय परिसर अगैयामा सो केन्द्रको उद्दघाटन गर्दै हस्तान्त्रण समेत गरेका छन् ।
राप्ती सोनारी गाउपालिकाको स्थानीय विपद व्यवस्थापन समितिले सञ्चालन गर्ने सो केन्द्रको उद्दघाटन गर्दै उनले गाउपालिका क्षेत्रभित्र प्राकृतिक तथा गैर प्रकृतिक प्रकोपबाट हुन सक्ने विपदबाट सर्वसाधारणको जिउज्यान, निजि, सार्वजनिक तथा ब्यक्तिगत सम्पत्ति प्राकृतिक तथा सास्कृतिक सम्पदा र भौतिक संरचना जोगाउन मद्दत गर्ने बताए ।
उनले स्थानीय तहमा आपतकालिन कार्य सञ्चालन केन्द्रको सञ्चालन गर्ने राप्ती सोनारी गाउपालिका बाँकेमा पहिलो भएको बताउदै देशभर कै पहिलो भएको हुनसक्ने बताए ।
गाउपालिकाका अध्यक्ष लाहुराम थारुले राप्ती नदी तथा अन्य नदीनालाबाट कटान डुवान जन्य प्रकोपबाट प्राताडित हुने गरेकोले प्रकोपबाट हुन सक्ने मानविय तथा भौतिक संरचनाको क्षति कम गर्न सजिलो होस भन्ने उद्देश्यले आपतकालिन कार्य सञ्चालन केन्द्र स्थापना गरिएको बताए ।
उनले गाउपालिकाको क्षेत्रमा सबै भन्दा बढी राप्ती नदिको कटान तथा डुवानको समस्या हुनुको साथै अन्य खोलानालाहरुको कारण समस्या हुने गरेको बताए । उनले भने–‘हरेक वर्षातको बेलामा धेरै नै बाढी तथा डुवानको समस्या हुने गरेको छ । फेरी निकुञ्ज र जंगली जनावरको कारण पनि बेला बेलामा समस्या आउने गरेको अवस्थामा यो केन्द्रले सहयोग पुराउने विश्वास छ ।’
राप्तीसोनारी गाउँपालिकालाई सो केन्द्र सञ्चालनको लागि सेभ द चिल्ड्रेन र बाँके युनेस्को क्लवले आवश्यक उपकरण तथा अन्य लजिस्टिक सर्पोट गरेको क्लवका कार्यक्रम अधिकृत दिपेन्द्र चौधरीले जानकारी दिए ।
राप्ती सोनारी गाउपालिका प्रकोप व्यवस्थापन उपसमितिका संयोजक जनकराम थारुले सहजिकरण गरेको कार्यक्रममा जिल्ला आपतकालिन कार्य सञ्चालन केन्द्र बाँकेका सञ्चार अधिकृत गौरीलाल बुढाथोकीले केन्द्र सञ्चालनको प्रकृयाको बारेमा जानकारी गराएका थिए ।
यसैबीच राप्ती सोनारी गाउपालिकाका अध्यक्ष लाहुराम थारुले आपतकालिन कार्य सञ्चालन केन्द्र सञ्चालन प्रतिबद्धता पत्रमा हसताक्षर गरी प्रमाणित समेत गरेका छन् । 

प्रकाशित मिति : २०७५ पुस ९ गते सोमबार
ताजा समाचार