Sadarline
२०८३ असोज २५ , आइतबार

बूढीगण्डकी बाढी प्रकरण : पाँच जना बेपत्ता, खोज तथा उद्धार कार्यमा तिव्रता

४७ जनाको उद्धार गरी सुरक्षित स्थानमा स्थान्तरण


नेपालगञ्ज : गोरखाको चुमनुव्री गाउँपालिका–६ लोक्पा र चुम्लिङबीचमा खसेको ठूलो पहिरोका कारण बूढीगण्डकीमा गएको बाढीमा परी दुई महिला र तीन पुरुष गरी पाँच जना बेपत्ता भएका छन ।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार चुमनुव्री गाउँपालिका–६ चुम्चेतको उङ्गिलुङ निवासी उनीहरू भेडीगोठमा रहेकाबेला बेपत्ता भएका हुन ।

‘बाढीले गोरखाका विभिन्न स्थानमा घर, झोलुङ्गे र पक्की पुल, विद्युतका खम्बा तथा टेलिफोन टावरमा क्षति पुर्‍याएको छ’, प्राधिकरणका प्रवक्ता शान्ति महतले भनिन, ‘धार्चे गाउँपालिका–३ सल्लेरीस्थित निर्माणाधीन टाइम्स ऊर्जा प्रालि र आसपासका सातदेखि आठ वटा घर बगाएको छ ।’

महतका अनुसार चुमनुब्री गाउँपालिका–३ न्याकचेतमा न्याकचेतबाट सिर्दिबास जोड्ने पुरानो झोलुङ्गे पुल बगाएको छ भने सोही स्थानमा एउटा घर बगाएको र अर्को घरमा बाढी पसेको छ । धार्चे गाउँपालिका–५ माछिखोलाबाट केरौजा जोड्ने झोलुङ्गे पुलसमेत बगाएको उनले जानकारी दिईन ।

‘यसैगरी, आरुघाट गाउँपालिका–९ नयाँपुलस्थित गोरखाबाट धादिङ जोड्ने पक्की पुलको गोरखातर्फको एक भाग बगाएको छ । आरुघाट गाउँपालिका–२ र ३ जोड्ने सोतीस्थित फलामे पक्की पुल पनि बाढीले बगाएको छ’, उनले भनिन, ‘माछीखोलाको तल्लो बस्तीमा बाढी पसेको र त्यहाँका २० देखि २२ घर जोखिममा छ । बूढीगण्डकी जलविद्युत आयोजनाको ३४१ मेगावाट क्षमताको मुख्य क्याम्प क्षेत्र र केही निर्माण उपकरणसमेत बगाएको छ । बाढीका कारण दुई वटा टेलिफोन टावर र ५० वटा विद्युतका खम्बामा क्षति पुगेको छ ।’

बाढीको सूचना प्राप्त हुनासाथ सुरक्षाकर्मी परिचालन गरी नदी तटीय क्षेत्रका बासिन्दालाई सुरक्षित स्थानमा सारिएको प्राधिकरणले जनाएको छ । खोज तथा उद्धारका लागि इलाका प्रहरी कार्यालय आरुघाटबाट २५ जना प्रहरी खटिएका छन । सल्लेरीस्थित टाइम्स ऊर्जा प्रालिका १२ जना कर्मचारीलाई सुरक्षित स्थानमा सारिएको छ ।

बूढीगण्डकी बाढी प्रभावित क्षेत्रमा ४३७ जना सुरक्षाकर्मी परिचालन

बाढी प्रभावित क्षेत्रमा खोज तथा उद्धारका लागि नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका ४३७ जना सुरक्षाकर्मी परिचालन गरिएको छ ।

प्राधिकरणका कार्यकारी प्रमुख डा धर्मराज उप्रेतीले नेपाली सेनाका चार वटा हेलिकप्टर खोज तथा उद्धारमा परिचालन गरिएको जानकारी दिए । ‘सेनाको हेलिकप्टरबाट हालसम्म ४७ जनाको उद्धार गरी सुरक्षित स्थानमा राखिएको छ’, उनले भने ।

‘बाढी गएको सूचना प्राप्त भएपछि गोरखा, धादिङ र चितवनको बेनीघाटसम्मका बासिन्दालाई एसएमएसमार्फत पूर्वसूचना पठाइएको थियो र त्यस्तै, गोरखा, धादिङ, तनहुँ, चितवन तथा नवलपरासी पूर्व र पश्चिमका २२१ जना प्रतिकार्यकर्तालाई परिचालनका लागि सूचना पठाइएको छ’, उनले भने ।

प्रकाशित मिति : २०८३ असोज २५ गते आइतबार
ताजा समाचार