समाचार सारांश
- युनेस्को प्रतिनिधि र कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीबीच कञ्चनजंघा संरक्षण क्षेत्रमा सञ्चालित तथा प्रस्तावित कार्यक्रमबारे छलफल भएको छ ।
- छलफलमा जैविक विविधता संरक्षण, स्थानीय समुदायको सहभागिता, जलवायु उत्थानशीलता र कञ्चनजंघा जैविक मण्डल आरक्ष पहलका विषयमा जानकारी आदानप्रदान गरिएको हो ।
- पर्वतीय सम्पदा तथा सुशासनसम्बन्धी अनुसन्धान र कार्यक्रमलाई प्रदेश सरकारका सम्बन्धित निकायसँगको समन्वयमा अघि बढाउने विषयमा समेत छलफल भएको छ ।

विराटनगर : युनेस्को प्रतिनिधि तथा कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीबीच कञ्चनजंघा संरक्षण क्षेत्र (केसिए) मा सञ्चालित तथा प्रस्तावित कार्यक्रम बारे छलफल भएको छ ।
भेटमा युनेस्को समर्थित परियोजनाबाट प्राप्त उपलब्धि तथा सिकाइ, जैविक विविधता संरक्षण, स्थानीय समुदायको सहभागिता, जलवायु उत्थानशील समुदाय निर्माण तथा प्रस्तावित कञ्चनजंघा जैविक मण्डल आरक्ष पहलसम्बन्धी विषयमा जानकारी आदानप्रदान भएको हो ।
भेटका क्रममा कञ्चनजंघा संरक्षण क्षेत्रमा जलवायु–उत्थानशील समुदायका लागि पर्वतीय सम्पदा र सुशासनसम्बन्धी अनुसन्धान तथा कार्यक्रमलाई अघि बढाउने विषयमा समेत छलफल भएको थियो ।
साथै, यी पहलहरूमा कोशी प्रदेश सरकारका सम्बन्धित मन्त्रालय तथा निकायसँग समन्वय र सहकार्यलाई थप सुदृढ गर्ने विषयमा पनि कुराकानी भएको जनाइएको छ ।


