समाचार सारांश
- भारी वर्षाको पूर्वानुमानपछि बाँकेमा राप्ती नदी तथा खोला–नालाको जलसतह बढ्न थालेसँगै सशस्त्र प्रहरीले तटीय क्षेत्रमा निरन्तर माइकिङ र निगरानी थालेको छ।
- सम्भावित बाढी तथा डुबानबाट हुने क्षति न्यूनीकरणका लागि उद्धार सामग्रीसहित विपद् व्यवस्थापन तालिम प्राप्त सशस्त्र प्रहरीलाई विभिन्न स्थानमा तयारी अवस्थामा राखिएको छ।
- सशस्त्र प्रहरीले स्थानीय तह, नेपाल प्रहरी तथा सरोकारवाला निकायसँग समन्वय गर्दै जोखिमयुक्त क्षेत्रमा अनावश्यक आवतजावत नगर्न र सतर्क रहन स्थानीयलाई आग्रह गरेको छ।

नेपालगञ्ज : मौसम पूर्वानुमान शाखाको सुचना अनुसार असोज ८–१२ भारीवर्षा हुने जानकारीपछि बाँकेमा राप्ती नदी तथा विभिन्न खोला–नालामा पानीको बहाव बढ्दै गएपछि सशस्त्र प्रहरीले तटीय क्षेत्रमा निरन्तर सचेतनामूलक माइकिङ र निगरानी गरिरहेको छ ।
सशस्त्र प्रहरी बल, नेपाल नम्बर ३० गण हेडक्वार्टर बागेश्वरी, बाँकेका अनुसार जिल्लाका विभिन्न स्थानमा निरन्तर वर्षा भइरहेकाले राप्ती नदी तथा खोलाको जलसतह बढेर बाढी र डुबानको जोखिम बढ्ने भएकोले जोखिमलाई ध्यानमा राख्दै तटीय क्षेत्रका बासिन्दालाई माइकिङमार्फत सचेत पार्नुका साथै प्रत्यक्ष निगरानी गरिरहेको हो ।
सशस्त्र प्रहरी बल, नेपाल नम्बर ३० गण हेडक्वार्टर बागेश्वरी, बाँकेका प्रमुख सशस्त्र प्रहरी उपरीक्षक भीमबहादुर चन्दले सम्भावित विपद्बाट हुन सक्ने मानवीय क्षति न्यूनीकरण गर्ने उद्देश्यले गण मातहतका युनिटहरूले बिहीबार दिनभरि र रातिसमेत तथा शुक्रबार बिहानैदेखि माइकिङमार्फत सचेतनामूलक सूचना प्रवाह गरिरहेको बताए । उनका अनुसार यसका लागि स्थानीय तह, अन्य सुरक्षा निकाय तथा स्थानीय विपद् व्यवस्थापनसँग सम्बन्धित निकायसँग आवश्यक समन्वय र सहकार्य भइरहेको छ ।
सशस्त्र प्रहरी बल, नेपाल नम्बर ३० गण हेडक्वार्टर बागेश्वरीका अनुसार सम्भावित बाढी, डुबान तथा अन्य विपद्को अवस्थामा तत्काल उद्धार तथा प्रतिकार्यमा परिचालन गर्न अस्थायी मनसुन प्रतिकार्य सुरक्षा बेस कुण्डा, अस्थायी मनसुन प्रतिकार्य सुरक्षा बेस कचनापुर, बीओपी गंगापुर, नम्बर ३० गण तथा रिजर्भ गण सम्शेरगन्जलगायतका स्थानमा विपद् व्यवस्थापन तालिम प्राप्त सशस्त्र प्रहरीलाई आवश्यक उद्धार सामग्रीसहित तयारी अवस्थामा राखिएको छ ।
त्यसैगरी, गण मातहतका अन्य युनिटमा समेत आवश्यक जनशक्तिलाई तयारी अवस्थामा राखिएको सशस्त्र प्रहरी उपरीक्षक चन्दले बताए । सम्भावित जोखिमका समयमा स्थानीय तहका विपद् फोकल पर्सन, नेपाल प्रहरीलगायत सुरक्षा निकाय तथा सम्बन्धित सरोकारवाला निकायसँग समन्वय गरी तत्काल उद्धार तथा प्रतिकार्यमा परिचालन हुने गरी सशस्त्र प्रहरी तयारी अवस्थामा रहेको उनले बताए ।
सशस्त्र प्रहरीले नदी तथा तटीय क्षेत्रका बासिन्दालाई मौसमसम्बन्धी सूचनाप्रति सचेत रहन, जोखिमयुक्त स्थानमा अनावश्यक आवतजावत नगर्न तथा सम्भावित विपद्को अवस्थामा सम्बन्धित सुरक्षा निकायलाई तत्काल जानकारी गराउन निरन्तर आग्रह गर्दै आएको छ ।

