कब्जामा रहेको सरकारी भवन खाली गराइयो

सदरलाइन संवाददाता १५ पुष २०८०, आईतवार १५:३०
 

नेपालगञ्ज : बाँकेमा बर्षौं अघिदेखि एक भारतीय नागरिकले कब्जा गरी अनाधिकृत रुपमा प्रयोग गर्दैआएको एक सरकारी कार्यालयको एउटा भवन बाँके प्रशासनले खाली गराएको छ ।

पशु क्वारेन्टाइन कार्यालय बाँकेको स्वामित्वमा रहेको नेपालगन्ज उपमहानगरपालिका –१५ पिप्रहवास्थित होल्डिङ् यार्डभित्र रहेको एकतले पक्की भवन वर्षौं अघिदेखि एक भारतीय नागरिकले कब्जामा लिई अनाधिकृत रुपमा उपयोग गरिरहेको भवन खाली गराइएको बाँकेका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोखरेलले बताए ।

प्रजिअ पोखरेलका अनुसार भारतीय नागरिकले २५ बर्ष अघिदेखि अबैधरुपमा कब्जा गरेको सो सरकारी भवन खाली गराउन बाँके प्रशासनले गत आइतबार ७ दिने सूचना टाँस गरी कारबाही प्रक्रिया अगाडि बढाएको थियो ।


परिवारसहित बसोबास गर्दैआएको भारतीय नागरिकलाई सो सरकारी भवन खाली गराइदिनका लागि जिल्ला प्रशासन कार्यालयले गत आइतबारदेखि लागू हुनेगरी ७ दिने सूचना टाँस गरी कारबाही प्रक्रिया अगाडि बढाएको प्रजिअ पोखरेलले जानकारी दिए ।

‘भारतीय नागरिकलाई कब्जा गरेको सो भवन खाली गराइदिन भनेर ७ दिने सूचना टाँस गरेको थियौं’ उनले भने, ‘कारबाही प्रक्रिया अघि बढाइएपछि भारतीय नागरिकले कब्जामा लिएको सो भवन सौहार्दपूर्ण वातावरणमै खाली गराएका छौं ।’

भारतीय नागरिकको कब्जाबाट मुक्त गराइएको सो सरकारी भवनमा पशु क्वारेन्टाइन कार्यालयले सरकारी ताल्चा लगाएको छ । २५ वर्ष अघिदेखि भारतीय नागरिकको कब्जामा रहेको सो भवन खाली गराइदिन सहयोग माग्दै तत्कालीन प्रशासकलाई पशु क्वारेन्टाइन कार्यालयले जिल्ला प्रशासन कार्यालयमा लिखित अनुरोध समेत गरेको थियो ।

तत्कालीन प्रशासकले यो बिषयमा ध्यान नदिँदा हालसम्म सो भवनमा भारतीय नागरिकको परिवारले हालीमुहाली गर्दैआएका थिए । ‘२०७८ फागुन २६ गते पशु क्वारेन्ट कार्यालयले कार्यालयको भवनमा अवैधरुपमा बस्दैआएको भारतीय परिवारलाई हटाउने कार्यमा सहयोग गरिदिन भनेर बाँके प्रशासनमा लिखित अनुरोध गरेको पाइयो’ प्रजिअ पोखरेलले भने ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

जोखिमपूर्ण यात्रामा जाने ५०९ जना नेपालगञ्ज नाकाबाट फिर्ता

१५ पुष २०८०, आईतवार १५:३०
नेपालगञ्ज : माइती नेपाल, नेपालगञ्जले भारत तथा तेस्रो मुलुक जानका लागि जोखिमपूर्ण यात्रामा निस्केका ५०९ जनालाई नाकाबाट फिर्ता पठाएको छ । एक वर्ष (२०२३)को अवधिमा माइती नेपालले नेपालगञ्ज नाकाबाट विभिन्न जिल्लाबाट भारत तथा तेस्रो मुलुक जान थालेका ५०९ जना महिला तथा बालबालिकालाई नाकाबाट फिर्ता पठाएको हो । माइती नेपालले आइतवार […]