बाल सुधार गृहबाट भागेका ९ जना अझै सम्पर्कविहीन

सदरलाइन संवाददाता ५ आश्विन २०८०, शुक्रबार १४:२५
 

नेपालगञ्ज : बाँकेको डडुवा गाउँपालिका–६ मा रहेको जयेन्दु बालसुधार गृहमा भएको झडपपछि भागेका कैदीबन्दीमध्ये ९ जना अझै फरार छन् ।

बिहीवार राती १० बजेबाट कैदीबन्दीबीच झडप शुरु हुँदा सुधारगृहमा रहेका २५४ जना नै बाहिर निस्किएका थिए । तीमध्ये २४५ जना नियन्त्रणमा आइसकेको जिल्ला प्रहरी कार्यालय, बाँकेका डीएसपी नारायण डाँगीले बताए ।

उनका अनुसार, बाँकी रहेका ९ जनाको खोजीका लागि प्रहरी परिचालित छ । झडपका क्रममा ११ जना गम्भीर घाइते भएका थिए । तीमध्ये एक जनाको उपचारका क्रममा मृत्यु भएको छ ।


कञ्चन गाउँपालिका–४, रुपन्देहीका सुलभ केसीको मृत्यु भएको डीएसपी डाँगीले बताए । केसी अपहरण, शरीर बन्धक तथा जबरजस्ती करणीको कसुरमा सजाय काटिरहेका थिए ।

कैदीबन्दीहरुले सुधार गृहको भवनका रेलिङ, बार र पर्खाल भत्काएका छन् । प्रहरीका अनुसार, बालसुधार गृहमा पोशाकका प्रहरीको उपस्थिति हुँदैन । ‘सिभिलमा सीमित प्रहरी मात्र खटिन्छन्, सबै संस्थाले व्यवस्थापन गर्ने हो’, डाँगी भन्छन् ।

यसअघि २ भदौमा भक्तपुरमा रहेको बाल सुधार गृहमा पनि तोडफोड गरेर कैदीबन्दीहरु भागेका थिए । भक्तपुरबाट सारिएका कैदीबन्दीले २७ भदौमा वीरगञ्जस्थित सुधार गृहमा पनि तोडफोड गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

नेपालगञ्जमा जथाभावी फोहोर फाल्नेलाई जरिवाना गरिने

५ आश्विन २०८०, शुक्रबार १४:२५
नेपालगञ्ज : नेपालगञ्ज उपमाहानगरपालिकाले सडकमा जथाभावी फोहोर फाल्नेलाई जरिवाना गर्ने तयारी शुरु गरिएको जनाएको छ । नेपालगञ्ज उपमहानगरका मेयर प्रशान्त विष्टले एक वर्षसम्म फोहोर व्यवस्थापनबारे स्थानीय वासिन्दालाई निकै सचेत पारिएको र सम्झाइ बुझाइ समेत गरिएको बताए । अब पनि जथाभावी फोहोर गरिएको पाइएमा जरिवाना गरिने उनको भनाइ छ । उनले […]