रकम फिर्ता नगर्ने सहकारीलाई सुविधाबाट वञ्चित गरिने

सदरलाइन संवाददाता १८ श्रावण २०८०, बिहीबार १४:२०
 

नेपालगञ्ज : कोहलपुर नगरपालिकाले सहकारीबाट ऋण लिएर भाखा नाघी सक्दा समेत ऋण नतिर्ने र बचतकर्ताको रकम फिर्ता नगर्ने सहकारीहरूलाई पालिकाबाट प्रदान गरिने सेवा सुविधाबाट वञ्चित गरिने भएको छ ।

नगरपालिकाले एक सूचना जारी गर्दै सहकारीबाट ऋण लिएर भाखा नाघी सक्दा समेत ऋण नतिर्नेहरू तथा बचतकर्ताको रकम हिनामिना गर्ने सहकारीका सञ्चालक र कर्मचारीलाई पालिकाबाट प्रदान गर्ने सेवा सुविधाबाट वञ्चित गर्ने जानकारी दिएको हो ।

नगरपालिद्वारा प्रकाशित गरिएको सूचनामा भनिएको छ, “सहकारीबाट ऋण लिएर भाखा नाघी सक्दा समेत पटक–पटक ऋण तिर्न ताकेता गर्दा पनि सम्पर्कमा नआउने, नटेर्ने र केही सहकारी संस्थाले पनि बचतकर्ताले बचत गरेको रकम फिर्ता नगरी सम्पर्कविहीन हुने, गैर जिम्मेवार बन्ने प्रवृत्ति बढिरहेको सूचना पालिकालाई प्राप्त भएको छ ।”


यस्ता गैर जिम्मेवारीपूर्ण कार्य नगर्नु नगराउनु हुन र ऋण लिएका शेयर सदस्यहरूले ऋणको साँवा र व्याज भुक्तानी गर्नुहुन, बचतकर्ताको बचत रकम फिर्ता गरी कार्यालय सञ्चालनको व्यवस्था मिलाउन नगरपालिकाले सम्बन्धित सबैलाई निर्देशन जारी गरेको छ ।

साथै सूचनामा गरिएको अनुरोधलाई बेवास्ता गरी ऋण नतिर्ने ऋणी सदस्य र कार्यालय सुचारु नगर्ने सहकारी संस्थाका सञ्चालक तथा व्यवस्थापकहरूको नाम सार्वजनिक गर्नुका साथै नगरपालिकाले प्रदान गर्ने सेवा सुविधाबाट वञ्चित गरी प्रचलित कानुन बमोजिम कारबाही प्रक्रिया अघि बढाइने जानकारी गराइएको छ ।

कोहलपुर नगरपालिकाका प्रमुख पूर्ण आचार्यले कोहलपुर भित्र सहकारीको ऋण लिएर लामो समयसम्म नतिर्ने र सर्वसाधारणले सहकारीमा बचत गरेको रकम पटक–पटक माग्दा पनि फिर्ता नगर्ने दुवै प्रकारको काम भइरहेकोले सो रोक्नका लागि सेवा सुविधाबाट वञ्चित गर्ने निर्णय गरिएको बताए । उनले नगरपालिकाले प्रकाशित गरेको सूचनालाई हल्का रूपमा नलिन आग्रह गर्दै त्यस्ता सबैलाई कडाइ गरिने चेतावनी पनि दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

नेपालगञ्ज नाकाबाट एक अर्बको आलु आयात

१८ श्रावण २०८०, बिहीबार १४:२०
नेपालगञ्ज : नेपालका विभिन्न जिल्लामा तरकारी खेती गर्ने किसान र उत्पादन दुबै वर्षेनी बढ्दै गएपनि भारतबाट हुँदै आएको आलुको आयात भने अत्यधिक परिमाणमा अझै पनि भइरहेको पाइएको छ । नेपालगञ्ज नाकाबाट मात्रै वर्षमा एक अर्ब हाराहारीको आलु भारतबाट आयात हुने गरेको पाइएको छ । नेपालगञ्ज भन्सार कार्यालयका अनुसार गत आर्थिक […]