बर्दिया : तात्कालीन सरकारले ०५७ साल साउन २ गते मुक्तकमैया घोषणा गरेयता बर्दियामा हालसम्म १० हजार ७ सय ३२ जनालाई पुनःस्थापित गरिएको छ । ०७६ सालमा कुल १० हजार ७ सय ९७ जनाले मुक्तकमैया परिचयपत्र प्राप्त गरेका थिए ।
त्यस समय सम्पर्कमा नआएका ६५ जना मुक्तकमैयालाई पुनःस्थापना गर्न सकिएको थिएन । पुनःस्थापनाको जिम्मा लिएको साबिकको भूमिसुधार कार्यालयलाई सरकारले ०७६ बाट काम नगर्न निर्देशन दिएको थियो । सरकारले यसको जिम्मा पालिकालाई दिएको थियो । पालिकाले जिम्मा लिएपछि ५३ जना सम्पर्क बाहिर रहेको भूमिसुधार तथा मालपोत कार्यालयका कम्प्युटर अपरेटर रामजी चौधरीले बताए । ‘६५ जनामध्ये जिल्लाको आठै पालिकाले १२ जना पुनःस्थापना गराएका थिए,’ उनले भने, ‘अन्य कस्तो अवस्थामा कहाँ छन् अत्तोपत्तो छैन ।’
जिल्लामा १६ हजार २ सय ६२ जना मुक्तकमैयाको संख्या रहेको दाबी अगुवाले गर्दे आएका छन् । गैरसरकारी संघ/संस्थामा आवद्ध मुक्तकमैयाले सरकारले लगत ठीक नभएको बताउँदै आएका छन् । मुक्तकमैयाका अगुवा दुखराम थारुले ५ हजार बढी मुक्तकमैयाले अझै परिचयपत्र नपाएको गुनासो पोखे । साबिक भूमिसुधार कार्यालयले वास्तविक लगत अनुसार १० हजार ७ सय ९७ रहेको जनाएको छ ।
‘मुक्तकमैया घोषणा भएको २४ औं वर्ष प्रवेश गर्दा सरकारले रोजगारी, शिक्षा, स्वास्थ्यमा अझै ध्यान पुगेको छैन,’ उनले भने, ‘मुक्तकमैयाका लागि सरकारले भने अनुसारका माग अझै पूरा गर्न सकेको छैन ।’ मुक्तकमैयाका छोरा, छोरी काम नपाएर स्वदेश र विदेशमा ज्याला मजदुरी गर्न बाध्य भएका छन् ।
सरकारले ५ कट्ठा जग्गा दिने भने पनि १० धुरदेखि ३ कट्ठा जग्गाधनी पुर्जा वितरण गरेकोले आम्दानीको स्रोत नभएकोले ज्याला मजदुरी गर्न बाध्य रहेको गुलरिया—८ का जयराम थारु बताउँछन् । ‘सरकारले कम्तिमा एक घर एक रोजगारको व्यवस्था गरोस्,’ उनले भने, ‘अनि मात्र समस्याको केही समाधान हुने थियो ।’
मुक्ति भएको २४ वर्षमा प्रवेश गर्दा पनि बर्दियाका मुक्तकमैयाको समस्या समाधान हुन सकेको छैन । मुक्त भएको खुशीयाली भएपनि आयस्रोतदेखि स्वास्थ्य, शिक्षा लगायत आयमूलक काम नपाउँदा उत्सवको अर्थ नहुने मुक्तकमैया शंकर थारुले बताए ।
कैयौंले प्राप्त गरेको जगगाधनी पुर्जा नदीको तटीय क्षेत्र, बालुटे, उब्जनी नहुने र अपायक भन्दै सट्टा भर्नाका लागि माग गरेपनि समस्याको समाधान हुन सकेको छैन । कतिपय त्यहाँ बस्न नसकेर पुरानै ठाउँमा जग्गाधनीको जग्गा बटैया गरी जीविकोपार्जन गर्दै आएको गुनासो गरेका छन् । मुक्तकमैया विन्तीराम थारुले पटकपटक समस्या समाधानका लागि माग गरेपनि सम्बन्धित निकायले वास्ता नगरेको बताए ।