समाचार सारांश
- बिहारको हाजीपुरमा वैशाली अन्तर्राष्ट्रिय गान्धी शान्ति पुरस्कार–२०२६ का लागि सार्क पत्रकार मञ्चका अध्यक्ष राजु लामा, थाइल्यान्डका डा. पीसी चन्द्रा र गान्धीवादी विचारक पद्मश्री प्रा. रामजी सिंह छनोट भएका छन्।
- शान्ति, अहिंसा, सद्भाव, मानवता, पत्रकारिता, बौद्ध दर्शन तथा गान्धीवादी विचारको प्रवद्र्धनमा योगदान पुर्याएको भन्दै तीनै जनालाई पुरस्कार प्रदान गर्ने निर्णय गरिएको हो।
- पुरस्कार आगामी सन् २०२७ जनवरी १७–१८ मा बिहारमा प्रस्तावित अन्तर्राष्ट्रिय सम्मेलनका क्रममा प्रदान गरिने जनाइएको छ।

हाजीपुर (बिहार) : भारतका राष्ट्रपिता महात्मा गान्धीको जन्मजयन्तीको अवसरमा वैशाली अन्तर्राष्ट्रिय गान्धी शान्ति पुरस्कार २०२६ का लागि तीन विशिष्ट व्यक्तित्वहरूको नाम सार्वजनिक गरिएको छ ।
वैशाली अन्तर्राष्ट्रिय गान्धी शान्ति पुरस्कार २०२६ को पुरस्कार छनोट समितिका प्रमुख सदस्यहरूले सर्वसम्मतिले सार्वजनिक गरेको नामहरूमा सार्क पत्रकार मञ्चका अन्तर्राष्ट्रिय अध्यक्ष राजु लामा, थाइल्यान्डका डा. पीसी चन्द्रा र बिहारका प्रख्यात गान्धीवादी विचारक पद्मश्री प्राध्यापक रामजी सिंह रहेका छन् ।
छनोट समितिमा पद्मश्री डा. जितेन्द्र कुमार सिंह, पद्मश्री विमल जैन, पद्मश्री राजकुमारी देवी (किसान चाची), पद्मश्री अशोक विश्वास र मानवाधिकार टुडेका सम्पादक डा. शशि भूषण कुमार रहेका थिए । उनीहरुबीचको गहन छलफलपछि समितिले ती तीन नामका सम्बन्धमा सर्वसम्मत निर्णय गरेको हो ।
छनोटमा परेका व्यक्तिहरूमध्ये, सार्क पत्रकार मञ्चका अन्तर्राष्ट्रिय अध्यक्ष लामालाई पत्रकारिताका माध्यमबाट विश्वभर शान्ति, सद्भाव र मानवताको सन्देश फैलाउन पु¥याएको योगदानको कदर गर्दै, थाइल्यान्डका डा. चन्द्रालाई शान्ति, बौद्ध दर्शन र मानवीय मूल्यहरूको प्रवद्र्धनमा पुराएको योगदानका लागि र बिहारका प्रख्यात गान्धीवादी विचारक पद्मश्री प्राध्यापक रामजी सिंहलाई शान्ति, अहिंसा, गान्धीवादी विचारको प्रसार र लेखनका क्षेत्रमा पु¥याउनुभएको उल्लेखनीय योगदानको कदर गर्दै यस अन्तर्राष्ट्रिय सम्मानका लागि छनोट गरिएको जनाईएको छ ।
मानवाधिकार टुडेका सम्पादक डा. शशि भूषण कुमारले बताए अनुसार, यो पुरस्कार विश्वको पहिलो लोकतन्त्रको उद्गमस्थल वैशाली तथा भगवान् महावीर र भगवान् बुद्धद्वारा प्रसारित अहिंसा र शान्तिको सन्देशबाट प्रेरित छ; जसले विश्वलाई आलोकित गरेका छन् । अहिंसा र शान्तिका अग्रदूत महात्मा गान्धीको जन्मजयन्तीको अवसरमा गरिएको यस पुरस्कारको घोषणाको उद्देश्य विश्वव्यापी स्तरमा शान्ति, अहिंसा, सद्भाव र मानवताका मूल्य–मान्यताहरूको प्रवद्र्धन गर्नु हो ।
उनले बिहारमा आयोजना हुने आगामी अन्तर्राष्ट्रिय सम्मेलनका क्रममा यी तीन विशिष्ट व्यक्तित्वहरूलाई वैशाली अन्तर्राष्ट्रिय गान्धी शान्ति पुरस्कार २०२६ प्रदान गर्ने निर्णय गरेको बताए । यो सम्मेलन सन् २०२७ को जनवरी १७–१८ मा आयोजना गर्ने प्रस्ताव गरिएको छ ।
डा. शशि भूषण कुमारले यस पहलको मुख्य उद्देश्य पत्रकारिता, गान्धीवादी विचारधारा र बौद्ध दर्शनका माध्यमबाट शान्ति तथा मानवीय मूल्य–मान्यताको प्रवद्र्धन गर्ने व्यक्तिहरूलाई वैशालीको भूमिबाट सम्मान गर्नु रहेको बताए ।


वैशाली अन्तर्राष्ट्रिय गान्धी शान्ति पुरस्कार २०२६ तीन जनाको नाम सार्वजनिक
