नेपालगञ्ज : नेपालगञ्जको सीमासँगै जोडिएको भारतीय बजार रुपईडिहामा करिब ६५ लाख रुपैयाँ बराबरको लागुऔषधिसहित एक नेपाली पक्राउ परेका छन् ।
रुपाईडिहा थानाका अनुसार मंगलवार १ बजे स्टेशन रोड रुपईडिहाबाट ६५ लाख नेपाली रुपैयाँ बराबरको १३२ ग्राम स्मेकसहित नेपालगञ्ज उपमहानगरपालिका वडा नं. १९ बसुदेवपुरका सागर भन्ने व्यक्ति पक्राउ परेका हुन् ।
भारतीय जिल्ला बहराईचले सञ्चालन गरेको अपराध एवं अपराधी रोकथाम अभियानअन्गर्तत मंगलवार राती गस्तीमा रहेको टोलीले स्मेकसहित सागरलाई पक्राउ गरेको हो ।
रुपईडिहा थानाका प्रभारी निरीक्षक श्रीधर पाठकको नेतृत्वमा वरिष्ठ उपनिरीक्षक रुदल बहादुर सिंहसहितको गस्ती टोलीले रेलवे मालगोदाम रोडबाट शंका लागेर जाँच गर्दा सागरको पेटबाट उक्त स्मेक फेला पारेको थियो ।
पक्राउ परेका सागरले दिएको बयानका आधारमा संलग्न अन्य व्यक्तिको पनि नाम र ठेगानको भारतीय प्रहरीले पहिचान गरेको छ । सागरविरुद्ध रुपईडिहा थानामा मुद्दा दर्ता गरी बुधवार जिल्ला अदालत बहराईच पठाइएको भारतीय प्रहरीलाई उद्धृत गर्दै रुपईडिहाबाट पत्रकार सन्तोष शुक्लाले जनाएका छन् ।