समाचार सारांश
- लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले मुलुकको विषम परिस्थितिको निकास संविधानको पूर्ण कार्यान्वयन, लोकतान्त्रिक विधि, संवाद र सहकार्यबाट खोजिनुपर्ने बताएका छन्।
- उनले प्रदेश सरकार सुशासन, पारदर्शिता, संघीयता सुदृढीकरण र नागरिककेन्द्रित सेवा प्रवाहसँगै कृषि, पर्यटन, शिक्षा, स्वास्थ्य र रोजगारीलाई प्राथमिकतामा राखेर अघि बढिरहेको बताए।
- संविधान दिवसका अवसरमा उनले संविधानका उपलब्धिको संरक्षण, राष्ट्रिय एकता र सहकार्य सुदृढ गर्दै संविधानको मर्मअनुसार अघि बढ्न सबैलाई आह्वान गरेका छन्।

दाङ : लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले मुलुकले सामना गरिरहेको विषम परिस्थितिको निकास संविधानको पूर्ण कार्यान्वयन, लोकतान्त्रिक विधि, संवाद र सहकार्यबाट खोजिनुपर्ने बताएका छन् ।
संविधान दिवस तथा राष्ट्रिय दिवस–२०८३ का अवसरमा शनिबार शुभकामना सन्देश जारी गर्दै उनले संविधानले सुनिश्चित गरेका नागरिक अधिकारको व्यावहारिक कार्यान्वयन र संवैधानिक व्यवस्थाको प्रभावकारी सञ्चालन आजको आवश्यकता रहेको बताए ।
मुख्यमन्त्री आचार्यले संविधान राजनीतिक स्थायित्व, सामाजिक न्याय र समृद्धिको आधार भएको उल्लेख गर्दै संविधानका उपलब्धिको संरक्षणसँगै यसको पूर्ण कार्यान्वयनमा जोड दिए । संविधानको मर्मअनुरूप अघि बढ्न राष्ट्रिय एकता, सहकार्य र जिम्मेवारीबोधलाई सुदृढ गर्नुपर्ने उनको भनाइ छ ।
उनले लुम्बिनी प्रदेश सरकार संविधानप्रदत्त अधिकारको कार्यान्वयन, सङ्घीयताको सुदृढीकरण र नागरिककेन्द्रित सेवाका लागि प्रतिबद्ध रहेको बताए । सुशासन, पारदर्शिता, जवाफदेहिता र भ्रष्टाचार नियन्त्रणलाई प्राथमिकतामा राख्दै नागरिकलाई सहज र प्रभावकारी सेवा प्रवाहमा जोड दिइएकोे छ ।
प्रदेश सरकारले पूर्वाधार विकाससँगै कृषि, उद्यमशीलता, पर्यटन, शिक्षा, स्वास्थ्य, रोजगारी, सामाजिक जागरण र नवप्रवर्तनलाई प्राथमिकताका साथ अघि बढाएको मुख्यमन्त्री आचार्यले बताएका छन ।
‘सङ्घीयता बलियो बनाउन प्रदेश बलियो हुनुपर्छ’ भन्दै उनले संविधानले प्रदेशलाई प्रदान गरेका अधिकार र जिम्मेवारीको प्रभावकारी कार्यान्वयन गर्दै प्रदेशलाई सक्षम, उत्तरदायी र नागरिकको नजिकको सरकारका रूपमा स्थापित गर्न सरकार प्रतिबद्ध रहेको बताए छ ।
संविधानसभाबाट निर्माण भई २०७२ साल असोज ३ गते जारी भएको नेपालको संविधान नेपाली जनताको लामो सङ्घर्ष, त्याग र बलिदानको महत्वपूर्ण उपलब्धि भएको मुख्यमन्त्री आचार्यले उल्लेख गरेका छन । संविधानले सङ्घीय लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्दै नागरिकका मौलिक हक, सामाजिक न्याय, समानता, समावेशिता, कानुनी शासन र लोकतान्त्रिक मूल्य–मान्यतालाई सुनिश्चित गरेको उनको भनाइ छ ।
संविधान दिवसका अवसरमा मुख्यमन्त्री आचार्यले लोकतान्त्रिक तथा सामाजिक परिवर्तनका आन्दोलनमा जीवन उत्सर्ग गर्ने सहिदहरूप्रति श्रद्धाञ्जली व्यक्त गर्दै घाइते तथा अपाङ्गता भएका नागरिक, सहिद परिवार र बेपत्ता नागरिकका परिवारजनप्रति सम्मान प्रकट गरेका छन् ।
उनले संविधान दिवसले राष्ट्रिय एकता, सहकार्य र जिम्मेवारीबोध सुदृढ गर्दै संविधानको मर्मअनुरूप अघि बढ्न सबैलाई प्रेरणा प्रदान गरोस् भन्ने शुभकामनासमेत दिएका छन् ।

