समाचार सारांश
- बाँकेको कोहलपुरबाट प्रहरीले १४ किलो ७ सय ६० ग्राम अफिम चोपसहित दुई जनालाई पक्राउ गरेको छ।
- पक्राउ गर्न खोज्दा भाग्न थालेपछि प्रहरीले एक राउन्ड हवाई फायर गरी उनीहरूलाई नियन्त्रणमा लिएको जनाएको छ।
- पक्राउ पर्नेमा रुकुमपूर्वका कर्णबहादुर बुढा र कोहलपुरका टोपजङ्ग गिरी रहेका छन्।

नेपालगञ्ज : बाँके प्रहरीले कोहलपुरबाट १४ किलो ७ सय ६० ग्राम अफिमसहित दुई जनालाई पक्राउ गरेको छ । पक्राउ गर्न खोज्दा उनीहरूले भाग्ने प्रयास गरेपछि प्रहरीले चेतावनीस्वरूप एक राउन्ड हवाई फायर गरेको थियो ।
लागुऔषध नियन्त्रण ब्युरोका सहप्रवक्ता प्रहरी नायब उपरीक्षक जीवन निरौलाका अनुसार लागुऔषध बिक्री–वितरण गर्ने गिरोहमाथि निगरानी गर्ने क्रममा लागुऔषध नियन्त्रण ब्युरो शाखा कार्यालय नेपालगञ्ज र सुर्खेतबाट खटिएको संयुक्त प्रहरी टोलीले सोमबार राति करिब ८ बजे उनीहरूलाई पक्राउ गरेको हो ।
प्रहरीलाई देखेर भाग्न खोजेपछि एक राउन्ड हवाई फायर गरी उनीहरूलाई नियन्त्रणमा लिइएको सहप्रवक्ता निरौलाले बताए । पक्राउ पर्नेमा रुकुम (पूर्वी) को सिस्ने गाउँपालिका–१ का ४३ वर्षीय कर्णबहादुर बुढा र बाँकेको कोहलपुर नगरपालिका–६ का ६० वर्षीय टोपजङ्ग गिरी रहेका छन् । प्रहरीले उनीहरूको साथबाट १४ किलो ७ सय ६० ग्राम अफिम चोप तथा दुई थान मोबाइल फोन बरामद गरेको जनाएको छ ।
सहप्रवक्ता निरौलाका अनुसार कोहलपुर नगरपालिका–६ मा अफिम चोपको कारोबार भइरहेको सूचनाका आधारमा प्रहरीले उनीहरूलाई नियन्त्रणमा लिन खोजेको थियो ।

त्यस क्रममा उनीहरू भाग्न खोजेपछि रोक्न चेतावनीस्वरूप एक राउन्ड हवाई फायर गरिएको थियो । त्यसपछि प्रहरीले दुवै जनालाई नियन्त्रणमा लिई उनीहरूको साथबाट अफिम चोप बरामद गरेको जनाएको छ ।
पक्राउ परेका दुवै जनालाई थप अनुसन्धान तथा कारबाहीका लागि इलाका प्रहरी कार्यालय कोहलपुरको हिरासतमा राखिएको इलाका प्रहरी कार्यालय कोहलपुरका प्रमुख प्रहरी नायब उपरीक्षक चक्र डम्मरपालले बताए ।
उनले लागुऔषधविरुद्ध प्रहरीले कडा निगरानी र कारबाहीलाई निरन्तरता दिँदै आएको पनि बताए ।


