बर्दियाको दुई पालिकाका आधारभूत विद्यालयका गणित विषयका शिक्षकलाई गणित शिक्षण पुनरताजगी तालिम

सदरलाइन संवाददाता ११ श्रावण २०८३, सोमबार १९:३९
 
समाचार सारांश
Generated Using AI
  • बर्दियामा सामुदायिक विद्यालयको सिकाइ सुधार परियोजनाअन्तर्गत आधारभूत तहका २० जना गणित शिक्षकका लागि तीनदिने पुनरताजगी तथा उपचारात्मक कक्षा सञ्चालन तालिम सम्पन्न भएको छ।
  • प्लान इन्टरनेशनल नेपाल, बि–ग्रुप तथा स्थानीय तहको सहकार्यमा सञ्चालित तालिममा विद्यार्थी–केन्द्रित गणित शिक्षण, उपचारात्मक कक्षा र सिकाइ सुधारका प्रभावकारी विधिबारे प्रशिक्षण दिइएको थियो।
  • तालिमबाट प्राप्त ज्ञान र सीप विद्यालयमा कार्यान्वयन गर्दै गणित शिक्षणको गुणस्तर र विद्यार्थीको सिकाइ उपलब्धि सुधार गर्ने प्रतिबद्धता सहभागी शिक्षकहरूले व्यक्त गरेका छन्।
यो सारांश AI द्वारा सिर्जना गरिएको हो।

बर्दिया :  बर्दियाका सामुदायिक विद्यालयको सिकाइ सुधार परियोजना अन्तरगत आधारभुत विद्यालयका गणित शिक्षकहरूको क्षमता अभिवृद्धि गर्ने उद्देश्यले सञ्चालित गणित विषय शिक्षण पुनरताजगी तालिम तथा उपचारात्मक कक्षा सञ्चालन सिकाई आदान–प्रदान कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको छ ।

प्लान ईन्टरनेशनल नेपाल र बि–ग्रुपको सहयोग तथा सहजीकरणमा ठाकुरबाबा नगरपालिका र बारबर्दिया नगरपालिकाको सहकार्य तथा जिल्ला शिक्षा विकास तथा समन्वय इकाई, बर्दियाको समन्वयमा साउन ८ देखि १० गतेसम्म सञ्चालन भएको थियो ।

तीन दिनसम्म सञ्चालन भएको तालिममा सहभागी शिक्षकहरूले विद्यार्थी–केन्द्रित, प्रभावकारी तथा सहभागितामूलक गणित शिक्षणका नवीन विधि, उपचारात्मक कक्षा सञ्चालनका प्रभावकारी अभ्यास तथा सिकाइ सुधारका विभिन्न रणनीतिबारे ज्ञान र सीप हासिल गर्नुकासाथै, आफ्ना विद्यालयमा अवलम्बन गरिएका उत्कृष्ट अभ्यास र अनुभवहरू एकआपसमा आदान–प्रदान गनेको वि–ग्रुपका परियोजना अधिकृत लक्ष्मीप्रसाद शर्माले जानकारी दिए ।


कार्यक्रमको सहजीकरण सुर्खेत क्याम्पसका प्राध्यापक नरहरि आचार्यले गरेका थिए । उनले व्यवहारीक अभ्यास, समूहगत छलफल तथा नवीन शिक्षण विधिमार्फत गणित शिक्षणलाई थप प्रभावकारी बनाउने उपायहरू प्रस्तुत गरेका थिए ।

कार्यक्रमले शिक्षकहरूको व्यावसायिक क्षमता अभिवृद्धि गरी विद्यालयमा गुणस्तरीय गणित शिक्षण प्रवद्र्धन तथा विद्यार्थीहरूको सिकाइ उपलब्धि सुधार गर्न महत्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गरिएको छ । सहभागी शिक्षकहरूले तालिमबाट प्राप्त ज्ञान, सीप र अनुभवलाई विद्यालयमा प्रभावकारी रूपमा कार्यान्वयन गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

कार्यक्रमको समापन बि–ग्रुपका संस्थापक गोपालनाथ योगीको अध्यक्षतामा सम्पन्न भएको थियो । समापन कार्यक्रममा बि–ग्रुपका कार्यकारी निर्देशक डम्मर सुनार, प्लान ईन्टरनेशनल नेपाल क्षेत्रीय कार्यालय, सुर्खेतका शिक्षा प्राविधिक सल्लाहकार, जिल्ला शिक्षा विकास तथा समन्वय इकाइ, बर्दियाका प्रतिनिधि, स्थानीय तहका प्रतिनिधि, परियोजनाका कर्मचारी तथा ठाकुरबाबा नगरपालिका र बारबर्दिया नगरपालिकाका आधारभूत विद्यालयमा गणित विषय अध्यापन गराउने २० जना शिक्षकहरूको सहभागिता रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *